दमक/ औपचारिक रुपमा मिति घोषणा नभए पनि आगामी फागुनदेखि बैशाख भित्रैमा मुलुकमा स्थानीय तहको निर्वाचन हुँदैछ । राजनीतिक दलहरुका लागि २०७९ मा नै चुनौतीपूर्ण बनेको स्थानीय तहको चुनाव ०८३ मा के हुने भन्ने जिज्ञासा बढ्दो छ ।
दलहरुमा लामो समय नेतृत्व गर्दै स्थानीय तह (गाउँ / नगरपालिका र तत्कालिन गाविस/नपा)मा अनुभव बटुलेका व्यक्तिहरु कुनै न कुनै दल वा स्वतन्त्र हैसियतबाट उम्मेदवारका रुपमा ठाउँ ठाउँमा अघि सर्दैैछन भने कतिपय नयाँ अनुहार पनि योग्यता, र आफ्नो भिजन सार्वजनिक गर्र्दै अघि सर्न खोजिरहेका देखिन्छ । व्यक्तिगत रुपमा इच्छुक नेतृत्वपक्तिंले उम्मेदवारीको तयारी गरिरहेका भए पनि त्यसले संस्थागत रुप लिइ सकेको छैन ।
रास्वपा उम्मेदवार छान्दै
संसदमा आफूलाई पहिलो शक्तिका रुपमा उभ्याएको रास्वपाले आफ्नो क्यान्डिडेड क्लबमा इच्छुक उम्मेदवारहरुका बिषयमा छलफल चलाइरहेका खबरहरु बाहिर आइरहेका छन् । रास्वपा झापा क्षेत्र नं ५ का सहसंयोजक चिरन न्यौपाने क्यान्डिडेड क्लबमा उम्मेदवारीको आफ्नो आफ्नो दाबी पेश गर्ने र आन्तरिक छलफल गर्ने काम भइरहेको बिषय स्वीकार गर्छन् ।
पार्टीले उम्मेदवारी दाबीका लागि तोकेका न्यूनमत मापदण्ड पुगेका सम्भावित उम्मेदवारहरुका बिषयमा फरक ढंगबाट छलफल भइरहेको न्यौपानेको भनाई छ ।
कांग्रेस – महाधिवेशनको रापताप सहदैं
दोश्रो ठुलो दल नेपाली कांग्रेस भने यतिबेला महाधिवेशनको राप तापमा परेको छ । गत फागुन २१ को संसदीय चुनाव अघिनै आन्तरिक लफडामा फसेको कांग्रेस पार्टीको आधिकारिकता विवाद टुंगो नलाग्दा महाधिवेशनको रापताप झन बढेको छ ।
विशेष महाधिवेशनपछिको संसदीय चुनावमा निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको गगन थापा नेतृत्वले असोजको तेस्रो साता पार्टीको १५ र्औं महाधिवेशन सम्पन्न गरिसकेको छ । महाधिवेशनबाट थापाले पार्टीको नेतृत्व सम्हालेका छन् भने पदाधिकारीहरु समेत कांग्रेस भित्रका परिवर्तन पक्षधर नेताहरु चुनिएपछि पार्टीमा उर्जा पैदा भएको कांग्रेसका कार्यकर्ताहरु र शुभचिन्तकहरुको बुझाई छ । पार्टी महाधिवेशन चल्दै गर्दा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माका विरुद्ध विशेष गरि तत्कालिन पार्टी सभापति शेरबहादुर देउवा, नेताहरु शेखर कोईराला र कृष्ण सिटौलाहरुको इशारामा झापासहित देशका विभिन्न ठाउँमा अधिवेशनका नाममा समुहगत भेला र प्रतिनिधिहरु चुन्ने गतिबिधि भएको छ । यसले एकताबद्ध र पुनजागृत कांग्रेसको संगठन निर्माणमा अवरोध पुर्याएको विश्लेषकहरुको बुझाई छ ।
सर्वोच्चको फैसला पर्खाइ
अन्य दलहरु स्थानीय चुनावको आन्तरिक र बाह्य तयारीमा लागिरहँदा नेतृत्वमा आधिकारिकताको विवादको बिषयमा सर्वोच्चले के फैसला सुनाउला भन्ने पर्खाइमा कांग्रेस नेता कार्यकर्ताहरु बसेका देखिन्छ । मध्यमार्गी र कांग्रेसका साधारण समर्थक मतदाताहरु पार्टीमा समय अनुसार नेतृत्वको पुस्ताहस्तान्तरण र पुन:जागरण हुनुपर्ने मत राखिरहेका छन भने सर्वोच्चले निर्वाचनको समयलाई ध्यान दिएर छिटो आधिकारिकताको विवाद टुंग्याइदिनु पर्ने उनीहरुको राय छ ।
एमाले–मिसन जागरणसहित राष्ट्रिय भेला तय
संसदको तेस्रो ठुलो दल नेकपा एमालेले भने स्थानीय चुनावको आन्तरिक तयारीलाई स्थानीयस्तरमा अघि बढाउँदै आगामी मंसिर पहिलो साता काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला तथा अधिवेशन सम्पन्न गर्दै राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो ।
भेलामा प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष–उपाध्यक्ष र सङ्घ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी हुनेछन ्।
एमालेले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ । वडा तथा पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला आयोजना गरिने एमालेले जनाएको छ ।
मिसन जागरणमा केन्द्रित
यसैबीच नेकपा एमालेले मिशन जागरण अभियान अन्तर्गत झापामा विभिन्न कार्यक्रमहरुलाई तिव्र बनाएको छ ।
अभियान अन्तर्गत विभिन्न भेला, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु भई रहेको एमालेले झापाले जनाएको छ ।
एमालेले अभियान अन्तर्गत झापाको दमकमा क्षेत्रमा रहेका जिल्ला कमिटी सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ । दमक स्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं. ५ मा रहेका जिल्ला कमिटी सदस्य तथा उपल्लो कमिटीका सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले सुशासनको माग सहित शुरु भएको युवाहरुको आन्दोलनलाई विदेशी शक्तिहरुको प्रभावमा राष्ट्रियता विरोधीशक्तिले कव्जा गरेको आरोप लगाए । सोहि शक्तिले ३५ वर्षमा देशमा पुराना पार्र्टीहरुले केहि गरेनन् भनेर अल्गोरिदम मार्फत जनतामा भ्रम फैल्याएको उनले बताए । त्यस्ता भ्रमलाई चिर्दै एमालेलाई पहिलो र निर्णायक राष्ट्रिय शक्ति बनाउन क्रियाशिल हुन उनले आग्रह गरे ।
कार्यक्रम एमाले क्षेत्रीय संयोजक नारायण गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले झापाका अध्यक्ष प्रेम गिरीले अभियान अन्तर्गत जिल्लाका सवै स्थानीय तहमा पार्टी परिचालित भएको जानकारी दिए ।
आसन्न स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गरि सघन रुपमा परिचालित हुन नेताहरुले कार्यकर्ताहरुलाई नेता दाहालले निर्देशन दिएका थिए । कार्यक्रम जेन्जी आन्दोलनका क्रममा ध्वस्त पारिए पछि पुननिर्माण गरिएको पार्टी कार्यालयमा सञ्चालन भएको हो ।
राप्रपा पनि महाधिवेशनको रापमा
अघिल्लो स्थानीय चुनावमा झापाको दमक , भद्रपुर र हल्दीबारीमा निक्कै बलियो उपस्थिती जनाउँदै नेतृत्व गरिरहेको राप्रपा पनि स्थानीय चुनाव अघिनै महाधिवेशनको रापमा तातेको छ ।
असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेश अधिवेशन सम्पन्न गर्दै नेतृत्व चयन गरेको राप्रपाले कात्तिक ११ देखि ३० गतेभित्र सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूलाई पार्टीको विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रमा पठाउन भनेको छ ।
मंसिर २६, २७ र २८ गते गर्नेगरी महाधिवेशन मिति तोकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।