बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोड अन्नपूर्ण चोकमा बुधबार बिहान भएको आगलागीमा फर्निचर तथा फ्याक्ट्री पूर्णरूपमा जलेर क्षति भएको छ ।
बुधबार बिहान करिब १०ः४५ बजे देवी सुव्वाको तीनतले पक्की घरको भुइँतलामा उनका छोरा हर्कजंग सुव्वाले सञ्चालन गर्दै आएको देवी उडन फर्निचर पसलमा आगलागी भएको हो । आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा १५ जना, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक मुन्ना कुमारी अधिकारीको कमाण्डमा १२ जना तथा सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेबाट सशस्त्र प्रहरी नायब निरीक्षक उमेश ठाकुरको कमाण्डमा ७ जनाको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी तथा बिर्तामोड, मेचीनगर र भद्रपुर नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सो आगलागी दिउँसो १ः०४ बजे पूर्णरूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीबाट सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घरमा भाडामा लिएर दिव्याश्री अग्रवालले सञ्चालन गर्दै आएको जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुम पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट फ्याक्ट्रीसहित घरमा समेत पूर्ण क्षति भएको छ । त्यसपछाडि रहेका अन्य दुईवटा घरमा समेत आगोको रापले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीका क्रममा सामान निकाल्ने प्रयास गर्दा अर्जुनधारा नगरपालिका–३ निवासी करिब ३९ वर्षीय तिलबहादुर रम्तेल एक तलामाथिबाट हामफालेका थिए । उनको दाहिने खुट्टामा चोट लागेको छ । उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको र आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
विर्तामोड अन्नपुर्ण चोकमा आगलागी : फर्निचर र फ्याक्ट्रीमा ठुलो क्षति
Nishkarsha News
२०८३ आश्विन २१, बुधबार २१:२८