झापा/ झापाको दमकमा सम्पन्न प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रानले जितेको छ ।
दमक–२ स्थित बेलडाँगी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा आयोजक क्लब दमक भेट्रानको रातो टिमलाई २–० गोल अन्तरले पराजित गर्दै विर्तामोड भेट्रानले उपाधि जितेको हो ।
बिर्तामोडले उपाधिसँगै १ लाख १ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता दमक भेट्रान रातोले ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेल सुरु भएको १७ औँ मिनेटमा बिर्तामोड भेट्रानका जर्सी नम्बर ७ का खेलाडी प्रवेश कटुवालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि २८औँ मिनेटमा बिर्तामोड भेट्रानकै जर्सी नम्बर ५ का खेलाडी रविन राईले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलको पहिलो हाफमा बिर्तामोड भेट्रानले गरेको दुई गोल नै निर्णायक बन्न पुगेको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि तीर्थ रिजालले प्राप्त गरे । त्यस्तै, उत्कृष्ट डिफेन्डर मोहन गुरुङ र उत्कृष्ट मिडफिल्डर भूपेन लिम्बू घोषित भएका छन् । खेलमा ‘म्यान अफ द म्याच’को उपाधि प्रवीण राईले जितेका छन् भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रूपमा दमक रातोका तुलबहादुर मगर ‘म्यान अफ द सिरिज’ बन्न सफल भए ।
पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी तथा सम्मान प्रदान गरिएको थियो । दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा सञ्चालित प्रतियोगिताको समापनमा पुण्य ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो । समापन कार्यक्रममा समेत खेलकुद क्षेत्रका अगुवाहरुलाई खेलकुद बिकासमा योगदानका लागि सम्मान गरिएको थियो ।
उनीहरुलाई दमक भेट्रान क्लबका अध्यक्ष देवान समापन समारोहमा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई , वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, २ का वडाध्यक्ष प्रजापति सापकोटा, ३ का वडाध्यक्ष नविन बराल, ९ का वडाध्यक्ष कुबेर भट्टराई, खेलकुद तथा सामाजिक क्षेत्रका अगुवाहरु सुरेन देवान, चन्द्र गजमेर, गणेश चाम्लिङ, धनजित राई लगायत जनप्रतिनिधि, लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न भेट्रान टोलीहरूको सहभागिता रहेको थियो ।