“आत्मनिर्भर कांग्रेस बनाउँछौं” – नवनिर्वाचित क्षेत्रीय सभापति

Author Nishkarsha News
२०८३ आश्विन १९, सोमबार १२:२८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं. ५ को क्षेत्रीय सभापतिमा रवि केसी निर्वाचित हुनुभएको छ । वडा तहदेखि पार्टी नेतृत्वको अभ्यास गर्दै आउनुभएका केसीले जिल्ला सदस्य तथा प्रदेश सभा क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ।

पार्टी संगठनमा लामो समयको सक्रियता र अनुभवपछि क्षेत्रीय सभापतिको जिम्मेवारी पाउनुभएका केसीको नेतृत्वमा अब पार्टी कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।

झापा–५ अन्तर्गत दमक, गौरादह र कमल तथा गौरीगञ्जका गरी २९ वडा पर्छन् । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, कार्यकर्ताको भावना सम्बोधन र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्ने बताउनुहुने केसीसँग गरिएको कुराकानी :


क्षेत्रीय सभापतिको जिम्मेवारी पाउनुभएको छ । अबको प्राथमिकता के हो ?

यो जिम्मेवारीलाई मैले पदभन्दा पनि अवसर र चुनौतीका रूपमा लिएको छु । वडा तहदेखि पार्टी संगठनमा काम गर्दै आएको अनुभवले संगठनका समस्या, कार्यकर्ताका अपेक्षा र जनताका भावना बुझ्ने अवसर दिएको छ । अब झापा–५ मा कांग्रेसलाई अझ व्यवस्थित, गतिशील र सबैलाई समेट्ने पार्टीका रूपमा अघि बढाउनु मेरो मुख्य प्राथमिकता हुनेछ ।


तपाईंले आगामी स्थानीय निर्वाचनसम्म पार्टी रूपान्तरित भएर अघि बढ्ने भन्नुभएको छ । कस्तो रूपान्तरण ?

रूपान्तरण भनेको केवल नेतृत्व वा संरचना परिवर्तन होइन । कार्यशैली, संगठन सञ्चालन र जनतासँगको सम्बन्धमा परिवर्तन आवश्यक छ । सबैलाई जिम्मेवारी दिने कुरामा कन्जुस्याइँ र विभेद हुँदैन । लामो समयदेखि पार्टीमा योगदान गरिरहेका भुइँ तहका कार्यकर्ताको भावना र सम्मानलाई प्राथमिकतामा राख्छौँ। संगठनमा सबैको अपनत्व हुने वातावरण बनाउँछौँ।


२९ वटै वडामा संगठनलाई कसरी सक्रिय बनाउने योजना छ ?

क्षेत्र ठूलो छ र यहाँका स्थानीय आवश्यकता पनि फरक–फरक छन् । त्यसैले वडा तहसम्म पुगेर संगठनको अवस्था बुझ्ने, कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने र आवश्यकताअनुसार जिम्मेवारी बाँडफाँट गर्नेछौँ । पार्टीका गतिविधि केही व्यक्तिमा सीमित होइन, सबै तहका कार्यकर्ताको सहभागितामा सञ्चालन गर्ने हाम्रो प्रयास हुनेछ ।


पार्टीप्रति आम नागरिकको बुझाइ बदल्ने कुरा पनि गर्नुभएको छ । त्यो कसरी सम्भव छ ?

पार्टी भनेको केवल चुनावका बेला मत माग्ने संगठन होइन । पार्टी वैचारिक संस्था हुनुका साथै सेवामूलक संरचना पनि हो। जनताका समस्या सुन्ने र आफ्नो तहबाट समाधान गर्न सकिने काममा पहल गर्ने संस्कार विकास गर्नुपर्छ । हाम्रो तहबाट मिलाउन सक्ने र गर्न सक्ने जनताका कामका लागि अरूको बाटो हेरेर बस्ने होइन, आफैँ पहल गर्नेछौँ । जनताले कांग्रेसलाई नजिकको, सहयोगी र जिम्मेवार राजनीतिक शक्तिका रूपमा अनुभूति गर्ने गरी काम गर्नुपर्छ र त्यो हामीले बुझेर आएका छौं ।


पार्टीमा अवसर र जिम्मेवारी नपाएको गुनासो गर्ने कार्यकर्ताहरु पनि छन् । तपाईंको कार्यकालमा त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

कार्यकर्ता नै पार्टीको आधार हुन् । उनीहरूको योगदानको सम्मान भएन भने संगठन बलियो हुँदैन । जिम्मेवारी दिँदा कोही कसैको व्यक्तिगत निकटता वा आग्रह–पूर्वाग्रहभन्दा क्षमता, सक्रियता, योगदान र आवश्यकतालाई आधार बनाउनेछौं । सबैलाई समेटेर अघि बढ्ने हाम्रो स्पष्ट नीति हुनेछ ।


झापा ५ मा अबको कांग्रेस कस्तो हुनुपर्छ भन्ने तपाईंको धारणा हो ?

अबको कांग्रेस परनिर्भर होइन, आत्मनिर्भर हुनुपर्छ । आफ्ना कार्यकर्ता, संगठन र जनशक्तिको क्षमता पहिचान गरेर त्यसलाई परिचालन गर्न सक्नुपर्छ। जनताका सामान्य समस्या समाधान गर्न पनि माथिल्लो तहको मुख ताकिरहने प्रवृत्तिबाट हामी मुक्त हुनुपर्छ । स्थानीय तहमा गर्न सकिने काम स्थानीय संगठनले नै पहल गरेर गर्ने संस्कार बसाल्नुपर्छ । कार्यक्षमता, सक्रियता र योगदानलाई आधार बनाएर अघि बढ्ने कांग्रेस झापा ५ को योजना र लक्ष्य हुनेछ ।


अन्त्यमा, झापा–५ का कांग्रेस कार्यकर्ता र आम नागरिकलाई तपाईंको सन्देश के छ ?

यो जिम्मेवारी मेरो मात्र होइन, झापा–५ का सम्पूर्ण कांग्रेसजनको साझा जिम्मेवारी हो । फरक मत र विचारलाई सम्मान गर्दै सबैलाई साथ लिएर अघि बढ्नेछौँ । संगठनलाई बलियो बनाउने र जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउने अभियानमा सबैको सहयोग आवश्यक छ । आगामी स्थानीय निर्वाचनसम्म हामीले कांग्रेसलाई अझ व्यवस्थित, जनमुखी र गतिशील संगठनका रूपमा उभ्याउने गरी काम गर्नेछौँ । हामी सबैको सुझबुझ पूर्ण पूर्वाग्रहरहित ढंगबाट पार्टी परिचालन गछौं यसमा आम कांग्रेस कार्यकर्ताहरुको पनि उत्तिकै सकारात्मक भुमिका र योगदान हुनुपर्छ हामी यही अपिल गर्न चाहन्छौं ।


 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्