दमक/ झापाको दमकमा आज (बिहीबार) देखि कोशी प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
दमक २ बेलडाँगीस्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रमा रहेको बेलडाँगी खेल मैदानमा दमक भेट्रान क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको उदघाटन दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले गरेकी छिन् ।
उदघाटनको अवसरमा उपप्रमुख भट्टराईले सरकारको दायित्व भित्र पर्ने खेलकुद बिकासका गतिबिधिहरु दमक भेट्रानले सञ्चालन गरेर महत्वपूर्ण योगदान पुरयाएको भनि प्रशंसा गरिन् । उनले यस खाले प्रतियोगिताहरुले स्वास्थ्य र अनुशासित समाज निर्माणमा योगदान दिने उल्लेख गरिन् ।

दमक भेट्रान क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु)को सभापतित्वमा भएको उदघाटन कार्यक्रममा खेलकुदका क्षेत्रमा योगदान दिने झापाका पुराना र अग्रज खेलाडीहरु पाँच जनालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरुमा हस्तबहादुर दर्लामी, गणेश चाम्लिङ, केशर मगर, लक्ष्मी रिजाल र गजेन्द्र देवान रहेका छन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी उपप्रमुख भट्टराई, विशेष अतिथी दमक ३ का वडाध्यक्ष नबिन बराल, वडा नं १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने र २ का वडाध्यक्ष प्रजापति सापकोटाले सम्मान गरे ।

सम्मानित पूर्व खेलाडीहरुले भेट्रान क्लबले गरेको सम्मानका लागि प्रशंसा व्यक्त गरे । औपचारिक कार्यक्रममा आयोजक क्लबका ज्ञानेन्द्र राईले स्वागत मन्तव्य राखेका थिए भने रामचन्द्र अधिकारी (आरसी)ले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रतियोगिताको उदघाटनमा भएको खेलमा मोरङको जहदा भेट्रान क्लबलाई हराउँदै आयोजक दमक भेट्रान क्लबको निलो टिमले ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
खेलमा दमक भेट्रान निलोका तर्फबाट खेलको १०औँ मिनेटमा जर्सी नम्बर ११ का गंगा लिम्बूले पहिलो गोल गरेका थिए । लगत्तै ११ मिनेटमा जर्सी नम्बर १० का जगेस चौधरीले गोल गर्दै दमक भेट्रान जदालाई खेलमा फर्काएका थिए।
त्यसपछि दमक भेट्रान निलोका जर्सी नम्बर १० का हरि शर्माले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । हाफ टाइमपछि थपिएको समयको अन्तिम मिनेटमा शर्माले व्यक्तिगत दोस्रो गोल गरेपछि दमक भेट्रान निलो ३–१ ले विजयी भएको हो ।
यो जितसँगै दमक भेट्रान निलो प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दमक भेट्रान बिर्तामोड भेट्रानसँग असोज १७ गते भिड्ने छ ।

बुढासुब्बामाथि ढल्केजोवन भेट्रान उर्लाबारीको सानदार जित
त्यसैगरी बिहीबारनै भएको दोश्रो खेलमा ढल्केजोवन भेट्रान उर्लाबारीले धरान बुढासुब्बा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
उर्लाबारीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । उर्लाबारीका जर्सी नम्बर २० का रोजिन शिवाकोटीले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि जर्सी नम्बर १० का विनोद लामाले गोल गर्दै अग्रता २–० मा पुर्याए ।
दोस्रो हाफमा पनि उर्लाबारीले आफ्नो दबदबा कायम राख्यो। रोजिन शिवाकोटीले खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै उर्लाबारीलाई ३–० को जित दिलाए ।
खेलका क्रममा दुवै टोलीका जर्सी नम्बर ६ का कमल खवास र जर्सी नम्बर ७ का सूर्यबहादुर राईले पहेँलो कार्ड पाए ।
जितसँगै ढल्केजोवन भेट्रान उर्लाबारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अब उर्लाबारीले आगामी १७ गते दमक रातो भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन ्। पहिलो खेलमा मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मिल्स भेट्रान र काकरभिट्टा भेट्रान आमनेसामने हुनेछन ।
