रोटरी क्लब अफ दमकले हस्तान्तरण गर्‍यो पुस्तकालय

Author Nishkarsha News
२०८३ आश्विन १५, बिहीबार १२:१९

दमक/ परोपकार तथा सेवामूलक कार्यमा सक्रिय रोटरी क्लब अफ दमकले आफ्नो शैक्षिक उत्तरदायित्वअन्तर्गत झापाको गौरादह नगरपालिका–३ स्थित सूर्योदय आधारभूत विद्यालयमा सबै कक्षामा आवश्यक बुक कर्नर निर्माण गरी ३५० थान पुस्तक हस्तान्तरण गरेको छ।

विद्यार्थीमा पढ्ने संस्कारको विकास गर्ने उद्देश्यले विद्यालयका प्रत्येक कक्षामा बुक कर्नर निर्माण गरिएको हो। रोटरी क्लब अफ दमकका सदस्य युवराज निरौलाको संयोजकत्वमा पुस्तक सङ्कलन अभियान सञ्चालन गरिएको थियो। अभियानमा इन्टर्याक्ट क्लब अफ जेम्सले समेत सहयोग गरेको थियो।

रोटा वर्ष २०२६–२७ का अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर आचार्य, शिक्षक–अभिभावक समितिका अध्यक्ष होमप्रसाद उप्रेती, रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष केशव अग्रवाल, रोटा वर्ष २०२७–२८ का अध्यक्ष भेनस श्रेष्ठ, रोटरियन रमा लिम्बू, शान्तिराम निरौला, सुवास श्रेष्ठ तथा इन्टर्याक्ट क्लब अफ जेम्सका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लीलानाथ गौतम, कार्यक्रम संयोजक युवराज निरौला, विदुर आचार्य, कृष्णप्रसाद सुवेदी र सागर श्रेष्ठले मन्तव्य राख्दै विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि पुस्तकालय तथा बुक कर्नरको महत्त्वबारे चर्चा गरेका थिए।
रोटरी क्लबले शैक्षिक क्षेत्रमा गर्दै आएको सहयोगअन्तर्गत बुक कर्नर निर्माण तथा पुस्तक हस्तान्तरणले विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका ज्ञान, सिर्जनशीलता र अध्ययनको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्