नयाँ पुस्तालाई अवसर दिनु पर्छ भन्दै कांग्रेस झापाका उपसभापति शेरबहादुरले गरे उम्मेदवार नबन्ने घोषणा

Author Nishkarsha News
२०८३ आश्विन ८, बिहीबार ०७:११

झापा / नेपाली कांग्रेस झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराईले पार्टीको जारी १५ औं महाधिवेशनमा आफू महाधिवेशन प्रतिनिधिको रुपमा नजाने भन्दै महत्वपूर्ण सन्देश सार्वजनिक गरेका छन् ।
१४ औं महाधिवेशनबाट जिल्ला उपसभापतिमा निर्वाचित भएका झापा क्षेत्र नं ५ अन्तर्गत दमक निवासी भट्टराईले गाउँ/नगर अधिवेशनमा उम्मेदवारको मनोनयन दर्ता गरिनु केही घण्टा अघि मात्रै सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी महाधिवेशनमा आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भट्टराईले लामो राजनीतिक यात्राका क्रममा पार्टीबाट प्राप्त जिम्मेवारी र अवसरप्रति आभार व्यक्त गरेका छन् । उनले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै आफूले पाएको अवसर नयाँ पुस्तालाई हस्तान्तरण गर्नु राजनीतिक संस्कार भएको बताएका छन्। महाधिवेशन प्रतिनिधि नबने पनि पार्टीप्रतिको आफ्नो विचार, विश्वास र प्रतिबद्धता यथावत रहने उनको भनाइ छ ।
भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा आउन, सिक्न र संगठनलाई थप बलियो बनाउन आग्रह गर्दै नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र संगठन निर्माणमा आगामी दिनमा पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी यस अघि कांग्रेसको दमक नगर समिति सभापति, क्षेत्रीय समिति सभापति , महासमिति सदस्य समेत भइसकेका नेता हुन् । उनको यो घोषणाले कांग्रेसलाई गगन थापा , विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, गुरुराज घिमिरे जस्ता नयाँ पुस्ताको काँधमा सुम्पिने नयाँ पुस्ताको अभियानमा जारी १५ औं महाधिवेशनमा महत्वपूर्ण योगदान पुग्ने कांग्रेसजनहरुको विश्लेषण छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्