दमक कांग्रेसमा नगर नेतृत्वको बहस तीव्र, सभापतिका आकांक्षी पाँच पुगे

Author Nishkarsha News
२०८३ आश्विन ६, मंगलवार १३:३०

दमक/ नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत दमक नगरका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै अब नगर नेतृत्व चयनको आन्तरिक बहस र छलफल केन्द्रित भएको छ।

नगर सभापतिको उम्मेदवार बन्न क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने प्रावधान रहेकाले वडा अधिवेशनबाट प्रतिनिधि चयन भएसँगै नगर नेतृत्वका आकांक्षीहरू थप स्पष्ट रूपमा मैदानमा देखिन थालेका छन्। यसअघि नै सामाजिक सञ्जालमार्फत सभापतिको दाबी प्रस्तुत गरिसकेका आकांक्षीहरूले पनि वडा–वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा नगर तहका नेताहरूसँग आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास थालेका छन्।

यसैक्रममा नेपाली कांग्रेस दमक नगर समितिका सचिव तथा सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय रामचन्द्र अधिकारी ‘आरसी’ ले मंगलबार नगर सभापतिमा आफ्नो उम्मेदवारीको संकेत गरेका छन्।

त्यसअघि सोमबार तरुण नेता गोकुल श्रेष्ठ ले पनि आफू नगर सभापतिको आकांक्षी रहेको सार्वजनिक गरेका थिए। श्रेष्ठ र अधिकारीको उम्मेदवारी आउने चर्चासँगै दमक कांग्रेसको भावी नेतृत्वबारेको बहस थप पेचिलो बनेको छ।

यसअघि कार्यवाहक नगर सभापति प्रेम भट्टराई, उपसभापति युवराज खनाल ‘सागर’ र दमक–४ का तत्कालीन वडा सभापति राजेन्द्र सिटौला ले सामाजिक सञ्जालमार्फत आगामी नगर नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्। यससँगै दमक नगर सभापतिका आकांक्षीको संख्या पाँच पुगेको छ।

नगर नेतृत्वमा सहमतिको औपचारिक प्रयास अघि नबढेको अवस्थामा आकांक्षीहरूबीचको प्रतिस्पर्धा र आन्तरिक समीकरणबारे कांग्रेसभित्र चर्चा बढेको छ। तरुण दल झापा–५ का अध्यक्षसमेत रहेका तथा उद्यमी–व्यवसायी क्षेत्रको नेतृत्व गरिसकेका श्रेष्ठको दाबीले नगर नेतृत्वको समीकरणमा थप बहस सिर्जना गरेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन्।

विशेष महाधिवेशनपछि हुन लागेको १५औँ महाधिवेशनलाई कांग्रेसजनले पार्टीलाई रुपान्तरण गर्ने अवसरका रूपमा लिँदै आएका छन्। यही पृष्ठभूमिमा दमक नगरको नयाँ नेतृत्व चयनलाई पनि विशेष चासोका साथ हेरिएको छ।

दमक–९ मा सञ्जय तामाङ सर्वसम्मत

यसैबीच दमकका १० वटै वडामध्ये ९ वटामा नेतृत्व चयन भइसकेको अवस्थामा बाँकी रहेको दमक–९ को वडा सभापतिमा युवा नेता सञ्जय तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।

तत्कालीन वडा सभापति युवराज कोइराला ले आफ्नो मनोनयन फिर्ता लिएपछि तामाङ सर्वसम्मत सभापति बनेका हुन्। सो वडामा वडा समितिसहित सबै क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन भएको बताइएको छ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्