दमक १० बालमैत्री वडा घोषणा (फोटो फिचरसहित)

Author Nishkarsha News
२०८३ आश्विन ५, सोमबार २१:४३

दमक/  झापाको दमक नगरपालिका वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको छ । स्थानीय सिंहदेवी देवस्थल परिसरमा सोमबार आयोजित कार्यक्रमका बीच सो वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई लगायतले संयुक्त रूपमा वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरेका हुन् ।
सो अवसरमा वडालाई बालमैत्री वडा घोषणा गरिएको प्रमाणपत्र जिसस प्रमुख बरालले वडा अध्यक्ष राजेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बरालले बालमैत्री वडा घोषणा गर्नु उपलब्धि मात्रै नभई बालबालिकाको अधिकार, संरक्षण र विकासका क्षेत्रमा थप जिम्मेवारीसमेत थपिएको बताए । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा तथा सहभागितालाई प्राथमिकतामा राखेर घोषणा गरिएका सूचकहरूको दिगो कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

 


त्यसैगरी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले बालबालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय तह, विद्यालय, परिवार र समुदायबीच सहकार्य आवश्यक रहेको बताइन् । उनले बालमैत्री वडा घोषणा कागजमा सीमित नराखी बालबालिकाले सुरक्षित र सम्मानजनक वातावरणमा हुर्कन पाउने अवस्था निर्माण गर्नुपर्ने बताइन् ।
वडा नम्बर १० का वडाअध्यक्ष भण्डारीले बालमैत्री वडा घोषणा भएपछि वडाको जिम्मेवारी अझ बढेको बताए । राज्यले सबैभन्दा कमजोर वर्गको संरक्षण र प्राथमिकतालाई महत्व दिने भएकाले बालबालिकाको संरक्षण गर्ने पहिलो निकाय परिवार र घर नै भएको उहाँको भनाइ थियो । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएका छन् ।


बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही सूचक कम्तीमा ८० प्रतिशत पूरा गरेपछि वडा नम्बर १० लाई बालमैत्री वडा घोषणा गरिएको नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने विभिन्न विद्यालय, संघ–संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेकपा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञराज निरौला, पूर्व जनप्रतिनिधि देवी दाहाल, राजनीतिक तथा सामाजिक व्यक्तित्व अम्बिका प्रसाद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्