दमक/ दमक ६ स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक चुनावी साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाले शनिबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा औपचारिक समारोहबीच साधारण सभा सम्पन्न गर्दै आगामी चार बर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।
संस्थाको विनियम अनुसार सञ्चालक समितिमा दिपक बरालसहित मातृका ओझा, अम्बिका खड्का, प्रकाश खनाल, खेमलाल काफ्ले, अर्जुन चौहान लगायत सर्वसम्मत चयन भएका र सञ्चालक सदस्यहरुको पहिलो बैठकबाट पदाधिकारीहरुको टुंगो लाग्ने निर्वाचन समितिका सदस्य चुडामणी ओझाले जानकारी दिए ।
त्यस्तै विश्वेश्वर प्रसाद मिश्रको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएको छ ।
संस्थाका अध्यक्ष भोला बरालको सभापतित्व र झापा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकूल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा संस्थाले हरेक बर्षझैं यो बर्ष पनि ज्येष्ठ शेयर सदस्यहरुलाई अभिभावकका रुपमा सम्मान गरेको छ भने संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
संस्थाको सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भोला बरालले सदस्यहरुको सेवामा केन्द्रित कार्यक्रमहरु अघि सारिएको बताए ।
संस्थाले लगानी बढाउने
सो सहकारी संस्थाले शेयर सदस्यहरुबाट संकलित निक्षेप रकमलाई अधिकतम उपयोग गर्दै संस्थाको नियमानुसार आगामी बर्ष कर्जा लगानी बढाउने नीति लिएको छ । सो सहकारीले हाल संस्थाको कर्जा लगानी ६ करोड ८ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक बर्षमा यसको कर्जा लगानी ७ करोड ५० लाख रुपैयाँ पुरयाउने लक्ष्य लिएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै शेयर पुँजी हाल ९१ लख ४० हजार रुपैयाँ रहेकोमा चालू आर्थिक बर्ष २०८३÷०८४ मा १ करोड ५० लाख रुपैयाँ पुरयाउने संस्थाले लक्ष्य लिएको छ ।