चेसको विश्वकप चेस ओलम्पियाडमा अक्सफोर्ड बोर्डिङका सुवेदी सहभागी हुँदै

Author Nishkarsha News
२०८३ भाद्र २९, सोमबार १५:१२

दमक/ दमकस्थित अक्सफोर्ड इङ्लिस स्कुलका चेस शिक्षक राजन सुवेदीले आज १४ देखि २८ सेप्टेम्बरसम्म हुने चेस ओलम्पियाडमा नेपालका तर्फबाट सहभागिता जनाउँदैछन् । उज्बेकिस्तानको समरकन्दमा आयोजना हुने ४६औँ चेस ओलम्पियाडमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने पुरुष तर्फका पाँच खेलाडी मध्ये सुवेदी एक हुन् । सो प्रतियोगितामा नेपालका तर्फबाट पुरुष र महिलामा ५–५ खेलाडीले सहभागिता जनाउने छन् ।
नेपाली टोली १३ सेप्टेम्बरमा त्यस तर्फ गएको र १४ सेप्टेम्बर अर्थात आजदेखि २८ सेप्टेम्बर सम्म सो प्रतियोगिता हुनेछ ।
चेसको विश्वकप मानिएको ओलम्पियाडका लागि नेपाली टोली दरबारमार्गस्थित होटल उडल्यान्डमा बन्द प्रशिक्षणमा रहेको थियो ।
सुवेदी नेपाल चेस टोलीमा छनोट भएसँगै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित चेस प्रतियोगितामा सहभागी हुनु दमकको लागि मात्रै नभएर सिंगो मुलुकका लागि गर्वको बिषय भएको खेलकुदप्रेमीहरुको भनाई छ ।
अक्सफोर्ड अंग्रेजी माविले सुवेदीलाई बधाई तथा शुभकामना दिँदै उनको अन्तर्राष्ट्रिय सहभागिता विद्यार्थीका लागि प्रेरणाको विषय भएको जनाएको छ । चेसमा उनको लगनशीलता, रणनीतिक क्षमता र निरन्तर मेहनतले उनलाई विश्वस्तरीय प्रतियोगिताको मञ्चसम्म र्पुयाएको विद्यालयको भनाइ छ ।
विश्वका विभिन्न देशका उत्कृष्ट चेस खेलाडी सहभागी हुने चेस ओलम्पियाडमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्दै सुवेदीले अक्सफोर्डको मात्रै नभएर सिंगो देशको प्रतिष्ठा उँचो बनाउने अपेक्षा गरिएको अक्सफोर्ड अंग्रेजी माविका प्रिन्सीपल गंगादेव चौधरीले बताए । अक्सफोर्ड इङ्लिस स्कुल परिवारले सुवेदीलाई सफलताको शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनकालागि शुभेच्छा व्यक्त गरेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्