ठिक एक बर्ष अघि भाद्र २३ गते अर्थात आजकै दिन मुलुकभर जेन–जेड (जेनजी) आन्दोलन शुरु भएको थियो । आन्दोलनको पहिलो दिननै कैयौं आन्दोलनकारी युवाहरु गोली लागेर ढलेपछि तत्कालिन सत्ता (सरकार) विरुद्ध जनलहर बढेको देखियो ।
आन्दोलनको दोश्रो दिन कतिपय ठाउँमा आन्दोलनले हिंसात्मक रुपमा समेत लिन पुग्यो । जसका कारण मुलुकैभर व्यक्तिगत सम्पत्ती र सार्वजनिक तथा सरकारी भौतिक संरचना, सवारी साधनहरु जलेर खरानी बने । आन्दोलनमा भएको क्षतिको पुननिर्माण करीब १० प्रतिशत हिस्सा मात्रै भएको अनुमान छ । राजनीतिक व्यवस्थानै बदल्ने बहस पनि चलेको थियो जेनजी आन्दोलनमा ।
भ्रष्टाचार अन्त्य र सार्वजनिक सेवामा सुशासन, राजनीतिमा पुस्तान्तरणको पनि आवाज बुलन्द भएको थियो । तत्कालिन राज्यशक्तिको दुरुपयोग, सामाजिक अन्याय जस्ता बिषयले राज्यपक्ष (तत्कालिन गठबन्धन सरकार) विरुद्ध आक्रोश र आवेगले उत्तेजनाको रुप लिँदा मुलुकनै ध्वस्तको चरणमा पुग्यो । आन्दोलनले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार ढल्यो ।
राष्ट्रपति, नेपाली सेना र तत्कालिन बिद्रोही शक्ति (जेनजी मुभमेन्ट)का अगुवाहरुको संवाद र छलफलपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बन्यो । त्यही सरकारले गएको फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गर्यो र ताजा जनादेश प्राप्त सरकार अहिले क्रियाशील छ ।
रास्वपाले बहुमत सिट प्राप्त दलका हैसियतमा प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकार बनाएको छ । चैत्रको दोश्रो साता बनेको अहिलेको सरकारको पाँच महिना समय बितिसकेको छ । यसबीचमा जेनजी आन्दोलनको एक बर्ष पनि पूरा भएको छ ।
यस सन्दर्भमा निष्कर्ष न्यूजले सामाजिक सञ्जाल मार्फत सार्वजनिक रुपमा जेनजी आन्दोलनको एक बर्षका सन्दर्भमा नागरिक अगुवाहरुको धारणा र प्रतिक्रिया लिएको छ । प्रस्तुत छ निष्कर्ष न्यूजमा प्राप्त प्रतिक्रिया जस्ताको तस्तै :
उत्सव होइन समीक्षा आवश्यक छ– गोपाल गुरागाइँ ( अध्यक्ष दमक उवासंघ )
जेन–जी आन्दोलन भएको आज एक वर्ष पूरा भयो । सडक तात्यो, सत्ता हल्लियो, व्यवस्था बदल्ने बहस चर्कियो—तर एक वर्षपछि प्रश्न उही छ : आखिर उपलब्धि के भयो ?
भ्रष्टाचार रोकियो कि झन् संस्थागत भयो ? शासन सुध्रियो कि अनुहार मात्र फेरिए ? युवाको आवाज सुनियो कि फेरि पनि सत्ता र स्वार्थकै आवाज ठूलो भयो ?
आन्दोलन केवल सडकमा उठेको आक्रोश थिएन, यो पुस्ताको प्रश्न थियो—जवाफदेही शासन, सुशासन र परिवर्तनको प्रश्न । त्यसैले यसको सफलता भाषण र नाराले होइन, व्यवहारमा देखिने परिवर्तनले प्रमाणित गर्नुपर्छ ।
एक वर्षपछि उत्सवभन्दा बढी समीक्षा आवश्यक छ । आन्दोलन सकिएको छैन । यसको असली परीक्षा अब सुरु भएको छ ।
जनताले परिणाम खोजेका छन, भाषण होइन : योगेश उप्रेती ( उद्यमी व्यवसायी तथा सामाजिक विश्लेषक )
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनमा आहुति दिनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते र संघर्ष गर्ने सबैप्रति सम्मान ।
तर आज गम्भीर प्रश्न गर्नुपर्ने बेला आएको छ—जेन–जी आन्दोलनको मर्म र उद्देश्यअनुसार सरकारले काम गर्न सकेको छ त ?
सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, राजनीतिक जवाफदेहिता र जनताले चाहेको वास्तविक परिवर्तनमा एक वर्षमा कति प्रगति भयो ? आन्दोलनका क्रममा उठेका आवाज र जनताको अपेक्षा कति सम्बोधन भए ?
सरकारलाई सुझाव छ—आन्दोलनलाई केवल सम्झनामा सीमित नराखी यसको मर्म, उद्देश्य र बलिदानलाई व्यवहारिक परिवर्तनमार्फत सम्मान गरियोस् । जनताले परिणाम खोजेका छन्, भाषण होइन ।
सुधारका प्रयत्न भएका छन, तर गर्नुपर्ने धेरै छन–
घनश्याम कोइराला, (भूतपूर्व अध्यक्ष दमक जेसीज )
आन्दोलनपछि केही सकारात्मक परिवर्तन देखिए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको छैन । धेरै बर्ष देखिको राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्तीका कारण बिग्रेको कर्मचारीतन्त्रमा सुशासन कायम गर्न समय त लाग्छ नै । एक वर्षमै केही नीति, प्रविधि र सार्वजनिक सेवामा सुधारका प्रयास भएका छन्, तर भ्रष्टाचार, राजनीतिक अस्थिरता, बेरोजगारी र विभेदजस्ता समस्या अझै कायम छन् ।
आन्दोलनको भावनालाई व्यवहारमा उतार्न राज्यले युवाको आवाजलाई प्राथमिकता दिई स्पष्ट योजना, समयसीमा र परिणाममुखी काम गर्नुपर्छ । पाँच–दश वर्षको अवधिमा शिक्षा, रोजगारी, सुशासन र आर्थिक विकासमा ठोस उपलब्धि हासिल भए मात्र आन्दोलनको वास्तविक भावना सम्बोधन भएको मान्न सकिन्छ । सार्वजनिक सेवालाई डिजिटलाइजेशन गर्नु जरुरी छ । यसो गर्दा भ्रष्टाचार धेरै घटेर जान्छ ।
जिम्मेवार बन्न आवश्यक छ– राजु निरौला (अध्यक्ष पहिलो पाइला नेपाल दमक)
मेरो विचारमा जेन–जी आन्दोलन २०८२ केवल एउटा विरोध प्रदर्शन मात्र नभई पुस्ताको असन्तुष्टि, परिवर्तनको चाहना र जवाफदेहिताको मागको अभिव्यक्ति थियो । आन्दोलनको मूल मर्म भ्रष्टाचार, बेथिति, राजनीतिक स्वार्थ र राज्यका कमजोरीविरुद्ध आवाज उठाउँदै सुशासन, पारदर्शिता, रोजगारी र जिम्मेवार शासनको माग गर्नु थियो ।
आन्दोलनले केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक बहसलाई अगाडि ल्यायो तर यसको वास्तविक उपलब्धि र दीर्घकालीन परिणाम मूल्यांकन गर्न अझै समय आवश्यक छ । एक वर्षको अनुभवले परिवर्तन सडकमा आवाज उठाएर मात्र होइन, त्यसलाई नीति, व्यवहार र संस्थागत सुधारमा रूपान्तरण गरेर मात्र सम्भव हुन्छ भन्ने देखाएको छ ।
आम नागरिकका लागि यो एक वर्ष आशा र निराशा दुवै बोकेको रह्यो । अब जेन–जी पुस्ताले उठाएका जायज प्रश्नको सम्बोधन गर्दै देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजान राज्य र नागरिक दुवै जिम्मेवार बन्न आवश्यक छ ।
समय आएपछि नतिजा हेरौंला – चुडामणी आचार्य (व्यवसायी दमक)
समय सम्म कुर्नु पर्छ होला कि ! बच्चा जन्मिन त ९ महिना ७ दिन कुर्नु पर्छ हर चिज छु मन्तरले हुने हैन अहिले नै धारणा बनाउँदा पछि ज्या है ..गलत पो भनिएछ भन्नु पर्ने पो हो कि ! सबै समय कै गर्भ भित्र छ । समयले सबैको हिसाब किताव गर्छ नै पर्खौ धैर्य गरौ समय आएपछि नतिजा हेरौला निष्कर्ष र धारणा बनाउला ।