एक वर्षअघि सडकमा देखिएको जेन्जी अर्थात नवयुवाको आन्दोलनलाई केवल एउटा राजनीतिक घटना वा सरकारविरोधी प्रदर्शनका रूपमा बुझ्नु पर्याप्त हुँदैन। त्यो आन्दोलन मूलतः राज्यप्रति, शासन प्रणालीप्रति, राजनीतिक नेतृत्वप्रति र आफ्नो भविष्यप्रति युवापुस्तामा लामो समयदेखि सञ्चित हुँदै आएको असन्तुष्टिको अभिव्यक्ति थियो।
युवाहरू सडकमा आउनुको पछाडि एउटा मात्र कारण थिएन। अवसरको अभाव, रोजगारीको संकट, भ्रष्टाचारप्रतिको आक्रोश, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, सार्वजनिक सेवाप्रतिको निराशा र आफ्नो भविष्यप्रतिको अन्योलले त्यसको पृष्ठभूमि तयार गरेको थियो।
त्यसैले जेन्जी आन्दोलनलाई केवल ‘आन्दोलन’ भनेर बुझेर सकिँदैन। यो हाम्रो राज्य व्यवस्थाले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसकेको एउटा गम्भीर संकेत पनि थियो ।
आन्दोलनले दिएको सन्देश
हरेक आन्दोलनको मूल्याङ्कन त्यसको नाराले मात्र होइन, त्यसले समाज र राज्यलाई दिएको सन्देशबाट गर्नुपर्छ । जेन्जी आन्दोलनले स्पष्ट सन्देश दियो—अब नयाँ पुस्ता पुरानै शैलीको राजनीति, पुरानै भाषण र पुरानै आश्वासनबाट सन्तुष्ट छैन ।
आजको युवा प्रश्न गर्छ । ‘देश कहिले बन्छ?’ भन्दा पनि ‘किन बन्दैन ?’ ‘रोजगारी कहिले पाइन्छ?’ भन्दा ‘रोजगारी सिर्जना किन हुँदैन? ‘नेतृत्व को हुन्छ?’ भन्दा ‘नेतृत्वले परिणाम के दिन्छ ?’ यिनै प्रश्नहरूले नयाँ पुस्ताको राजनीतिक चेतनालाई परिभाषित गरिरहेका छन्।
तर आन्दोलनपछि हामी कहाँ पुग्यौँ ? आन्दोलनले व्यवस्था र नेतृत्वलाई प्रश्न गर्यो । तर आन्दोलनपछि उत्पन्न परिस्थितिले अर्काे महत्वपूर्ण प्रश्न पनि जन्माएको छ—अब हाम्रो जिम्मेवारी के हो ? परिवर्तनको माग गर्नु एउटा कुरा हो, परिवर्तनलाई संस्थागत गर्नु अर्काे कुरा।
व्यवस्था परिवर्तन गर्न सकिन्छ। नेतृत्व परिवर्तन गर्न सकिन्छ। सरकार परिवर्तन गर्न सकिन्छ। तर समाजको सोच, प्रशासनिक संस्कार, राजनीतिक संस्कृति र आर्थिक संरचना परिवर्तन गर्न लामो समय लाग्छ। यही कारणले आन्दोलनका क्रममा उठेका मागहरूलाई भावनात्मक रूपमा मात्र होइन, संस्थागत र नीतिगत रूपमा सम्बोधन गर्न आवश्यक छ।
आन्दोलनका ‘साइड इफेक्ट’ पनि छन् । कुनै पनि ठूलो राजनीतिक वा सामाजिक घटनाको सकारात्मक प्रभावसँगै केही अप्रत्याशित असर पनि आउन सक्छ ।
आन्दोलनका कारण सिर्जित अस्थिरता, सामाजिक ध्रुवीकरण, पुस्ताबीचको अविश्वास, आर्थिक गतिविधिमा परेको प्रभाव तथा परिवार र समाजभित्र देखिएको मानसिक तनावलाई पनि हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ । आज धेरै परिवारले परिवर्तनको मूल्य आफ्नै घरभित्र अनुभव गरिरहेका छन्।
बुवा पुस्ताले एउटा प्रकारको सोच बोकेको छ । हाम्रो पुस्ता संक्रमणमा छ ।
छोराछोरी पुस्ता अर्काे संसारमा हुर्किरहेको छ । यी तीन पुस्ताबीचको सोचमा ठूलो अन्तर छ । तर समस्या पुस्ताबीचको फरक सोच होइन। समस्या तब हुन्छ, जब एउटा पुस्ताले अर्काे पुस्तालाई बुझ्नै अस्वीकार गर्छ । बुवाको पुस्तालाई गलत र छोराछोरी पुस्तालाई सही भनेर फैसला गर्न मिल्दैन ।
हाम्रो अघिल्लो पुस्ताले आफ्नो समयअनुसार देश निर्माण र्गयो। उनीहरूसँग सीमित स्रोत थिए, सीमित अवसर थिए र फरक सामाजिक–राजनीतिक परिस्थिति थियो ।
आजका युवासँग सूचना प्रविधि छ । विश्वसँग प्रत्यक्ष सम्पर्क छ। उनीहरू विश्वका अवसर र चुनौती दुवै देखिरहेका छन्। त्यसैले उनीहरूको अपेक्षा पनि फरक छ ।
पुरानो पुस्ताले ‘हामीले यति दुःख गरेर बनायौँ’ भन्छ । नयाँ पुस्ताले ‘हामीले अझ राम्रो बनाउन पाउनुपर्छ’ भन्छ । दुवै भनाइ गलत होइनन्। समस्या संवादको अभावमा छ ।
अब हामीले पुस्तालाई दोष दिने होइन, पुस्ताबीचको अनुभव र ऊर्जालाई जोड्ने प्रयास गर्नुपर्छ।
अब आक्रोश होइन, निर्माण चाहिन्छ एक वर्षअघि सडकमा उठेको आवाजलाई इतिहासले आफ्नो ठाउँमा मूल्याङ्कन गर्नेछ ।
तर आज हाम्रो अगाडि एउटा महत्वपूर्ण जिम्मेवारी छ—त्यो आक्रोशलाई निर्माणको शक्तिमा कसरी बदल्ने ?
युवालाई केवल आन्दोलन गर्ने शक्ति होइन, नीति निर्माण गर्ने शक्ति बनाउनुपर्छ ।
उनीहरूलाई केवल विरोध गर्ने ठाउँ होइन, निर्णय प्रक्रियामा सहभागी हुने अवसर दिनुपर्छ।
रोजगारी खोज्ने युवालाई रोजगारी सिर्जना गर्ने वातावरण दिनुपर्छ । विदेश जाने बाध्यतालाई गाली गरेर होइन, स्वदेशमै अवसर सिर्जना गरेर रोक्नुपर्छ ।
राजनीतिलाई केवल चुनाव जित्ने माध्यम होइन, सार्वजनिक सेवा गर्ने माध्यम बनाउनुपर्छ ।
समय बदलिइसकेको छ एक वर्षअघिको परिस्थिति र आजको परिस्थिति एउटै छैन । समाज बदलिएको छ । राजनीतिक बहस बदलिएको छ । युवाको अपेक्षा बदलिएको छ । सूचना प्रविधिले नागरिकको शक्ति बढाएको छ । त्यसैले अब हिजोकै आँखाले आजलाई हेरेर निर्णय गर्न खोज्नु हुँदैन । परिवर्तनलाई स्वीकार्नु कमजोरी होइन । समयअनुसार आफूलाई परिवर्तन गर्नु नै परिपक्वता हो । हामीले विगतका गल्तीबाट सिक्नुपर्छ, तर विगतकै विवादमा अल्झिएर भविष्य गुमाउनु हुँदैन।
मेरो पुस्ताको जिम्मेवारी
हाम्रो पुस्ता दुई पुस्ताबीचको पुल हो । हामीले बुवाको पुस्ताको अनुभव पनि बुझेका छौँ र छोराछोरी पुस्ताको आकांक्षा पनि बुझ्नुपर्छ।
हामीले न त पुरानो पुस्तालाई असान्दर्भिक घोषणा गर्न सक्छौँ, न नयाँ पुस्ताको आवाजलाई अपरिपक्व भनेर पन्छाउन सक्छौँ । हामीले दुवैलाई जोड्नुपर्छ । किनभने देश एउटा पुस्ताले मात्र बनाउने होइन । देश पुस्तौँको निरन्तर प्रयासबाट बन्छ ।
अब प्रश्न ‘को सही?’ होइन, ‘देश कसरी सही दिशामा जाने?’ हो
हामी अझै पनि ‘को दोषी?’ भन्ने बहसमा अल्झिरहने हो भने अर्काे पुस्ताले पनि यही प्रश्न बोकेर सडकमा आउनुपर्ने अवस्था आउन सक्छ।
अब प्रश्न बदलौँ। को सही र को गलत? भन्दा देशलाई सही दिशामा कसरी लैजाने ? कसको सरकार ? भन्दा कस्तो शासन? कुन पार्टी ? भन्दा कस्तो राजनीतिक संस्कार ? कुन नेता ? भन्दा कस्तो नेतृत्व ?
यी प्रश्नहरू हाम्रो राष्ट्रिय बहसका विषय बन्नुपर्छ ।
अन्ततः
जेन्जी आन्दोलनको एक वर्षलाई केवल सम्झिने दिनका रूपमा होइन, आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्छ । त्यो आन्दोलन युवाको आक्रोश थियो भने अब हाम्रो जिम्मेवारी त्यस आक्रोशलाई आशामा बदल्नु हो। आक्रोशलाई अवसरमा बदल्नु हो। असन्तुष्टिलाई सुधारमा बदल्नु हो। विरोधलाई नीतिमा बदल्नु हो। र आन्दोलनले उठाएका प्रश्नलाई देश निर्माणको कार्यसूचीमा बदल्नु हो । समय, काल र परिस्थिति बदलिइसकेको छ । अब हामीले पनि बदलिनुपर्छ । विगतलाई अस्वीकार गरेर होइन, त्यसबाट सिकेर अघि बढौँ। नयाँ पुस्तालाई रोक्ने होइन, उनीहरूको ऊर्जा सही दिशामा प्रयोग गरौँ । पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडौँ ।
किनकि अन्ततः हामी फरक पुस्ताका भए पनि हाम्रो भविष्य एउटै हो । मेरो भलो, मेरो बुवा पुस्ताको भलो र मेरा छोराछोरी पुस्ताको भलो—यी सबैको साझा नाम नेपाल हो । अब समय आक्रोशको होइन, निर्माणको हो ।