चन्द्रदर्शनमा उपनिर्वाचन मार्फत रिक्त चार पदमा नेतृत्व चयन

Author Nishkarsha News
२०८३ भाद्र २१, आईतवार २२:२२

दमक/  झापाको कमल–५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा अन्तर्गत उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनले संस्थामा रिक्त रहेका चार पदमा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
सञ्चालक समितिको सचिवमा किसन राई , सदस्यहरूमा सबिता चौहान कार्की र तुलाराम गुरुङ निर्वाचित भएका छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा साबित्रा उप्रेती सर्वसम्मत चयन भएकी संस्थाले जनाएको छ ।
शनिबार आयोजित १६ औं साधारण सभाका बीच निर्वाचन संयोजक बिमल कुमार संग्रौलाले नवनिर्वाचित सञ्चालक तथा लेखा समितिका पदाधिकारी एवं सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।


साधारण सभा संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठको सभापतित्वमा र जिल्ला बचत संघ झापाका सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन सन्जय कुमार कुमालले गरेका थिए । संस्थाका ब्यवस्थापक रेवत गुरुङका अनुसार साधारण सभामा वित्तीय प्रतिवेदन समेत प्रस्तुत गरि पारित गरिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाको सेयर पुँजी २ करोड ७३ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ भने सोही अवधिमा संस्थाको कुल निक्षेप ९ करोड ७५ लाख ८४ हजार ३८ रुपैयाँ र कुल ऋण लगानी ११ करोड ७६ लाख १३ हजार ८ सय ४४ रुपैयाँ रहेको छ ।
सो अवसरमा संस्थाको प्रगतिमा महत्त्वपूर्ण योगदान पुरयाउने उत्कृष्ट कारोबार गर्ने सदस्यहरू, उत्कृष्ट बाल बचतकर्ताहरूका साथै २०८३ को एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुन सफल शेयर सदस्यका छोराछोरीहरूलाई नगदसहित सम्मान तथा प्रोत्साहन पत्र प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्