प्रथम गौरादह महिला फुटबल प्रतियोगिता : रथखोला एफसीको विजयी सुरुवात

Author Nishkarsha News
२०८३ भाद्र १९, शुक्रबार २१:२५

गौरादह /  प्रथम गौरादह महिला फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा रथखोला एफसी, पश्चिम बंगालले विजयी सुरुवात गरेको छ ।
गौरादह १ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रथखोला एफसीले फेयर एफसी धरानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १६औँ मिनेटमा फेयर एफसीकी खेलाडीबाट भएको आत्मघाती गोलसँगै रथखोलाले अग्रता लिएको थियो । त्यसपछि फेयर एफसीका लागि २६औँ मिनेटमा यमकुमारी विकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् ।
तर दोस्रो हाफमा रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४७औँ र ६६औँ मिनेटमा दुई गोल थपिन् । उनको दुई गोलसँगै रथखोलाले ३-१ को जित सुनिश्चित गर्‍यो ।
खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाएकी रथखोलाकी कप्तान प्रतिज्ञा क्षेत्री प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतियोगिताअन्तर्गत शनिबार धरान लेडिज फुटबल क्लब र राङ्चा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव बिप्लव घोषले उद्घाटन गरेको प्रतियोगितामा गौरादह , नगर प्रमुख छत्रपती सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी र नगर प्रवक्ता तथा गौरादह १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्