हंसेदुम्से सामुदायिक वन उपभोक्ताको नेतृत्वमा द्धिपक्षीय प्रतिस्पर्धा, मुख्य पदमा को को छन ?

Author Nishkarsha News
२०८३ भाद्र १९, शुक्रबार १७:४६

दमक/ भाद्र २१ गते हुने हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुह दमकको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले आज प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि योगराज दंगाल र भागवत प्रसाद दुलालबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षसँगै अन्य धेरै पदहरुमा द्धिपक्षीय र सहसचिवमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।  उपाध्यक्षमा नन्दिकेशर दंगाल र चन्द्रबीर विश्वकर्मा, सचिवमा महिला उम्मेद्धारद्धय सुस्मा अधिकारी र टुकाकुमारी बस्नेत, सहसचिवमा मनोज बस्नेत, टंकप्रसाद सापकोटा (दिनेश) र चुडेन्द्रकुमार खड्का तथा कोषाध्यक्षमा मायादेवी कोइराला सिग्देल र कल्पना राईबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । त्यस्तै लेखा समिति संयोजकमा श्यामप्रसाद आचार्य र ठाकुरप्रसाद लुइँटेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

निर्वाचनमा १२६ जना उपभोक्ता प्रतिनिधीहरु मतदाताका रुपमा सहभागी हुनेछन् । यो वन उपभोक्ताको निर्वाचनलाई राजनीतिक दलहरुले स्थानीयस्तरमा प्रतिष्ठाको बिषय बनाउँदै आएका छन् । अध्यक्षका प्रत्यासी दंगाल राप्रपा सम्बद्ध हुन भने दुलाल नेपाली कांग्रेस सम्बद्ध हुन् । अन्य पदका उम्मेदवारहरु पनि आआफ्नो समर्थित टिमका उम्मेदवार भएका राजनीतिक वृत्तमा चर्चा छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्