काठमाडौं/ नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रसुवा बाढी तथा पहिरोपीडितको राहत तथा पुनःस्थापनाका लागि सञ्चालन गरेको सहयोग अभियानबाट संकलित १ करोड ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको छ ।
संघका अनुसार राहत अभियानमा हालसम्म ५२० भन्दा बढी वैदेशिक रोजगार व्यवसायी, संस्था, शाखा तथा विदेशी साझेदार संस्थाहरूको सहभागिता रहेको छ । सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको संघले जनाएको छ ।
संकलित रकम संघका अध्यक्ष डिक बहादुर खत्रीको नेतृत्वमा कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भई विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग हुने संघको विश्वास छ ।
रकम हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मानवीय सेवासँगै वैदेशिक रोजगार व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको संघले जनाएको छ। विपद्को समयमा व्यवसायीहरूले देखाएको एकता, सद्भाव तथा उदार सहयोगले वैदेशिक रोजगार व्यवसायी समुदायको सामाजिक भूमिकालाई थप उचाइ दिएको संघको भनाइ छ।