ताप्लेजुङ/ सातदोबाटो फुटबल क्लबलाई ट्राइब्रेकरमा पराजित गर्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा सलहेशले सातदोबाटोलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
सलहेशका लागि फागुराम थारु, सनिष श्रेष्ठ, निषकुमार श्रेष्ठ र दीप कार्कीले गोल गरे । रोहन कार्कीको प्रहार भने सातदोबाटोका गोलरक्षकले रोकेका थिए । सातदोबाटोका विशाल भण्डारी, शिला र श्याम मुर्मुले गोल गरे । तर उक्त टिमका श्यामेल सुनुवार र विश्व लामाको प्रहार भने सलहेशका गोलरक्षकले रोके ।
आजको जितसँगै साविक विजेता सलहेशले सेमिफाइनलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लबसँगको भेट पक्का गरेको छ । यसअघि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र भारतको जर्जियन युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ ।
आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ र उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।