दमक / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमक नगर कार्यसमितिको आयोजनामा नगरस्तरीय अतिरिक्त क्रियाकलाप (ECA) कार्यक्रम सुरु भएको छ।
शनिबारदेखि सुरु भएको कार्यक्रमको प्रारम्भमा प्याब्सन दमकका नगर अध्यक्ष नवीन योगी र केन्द्रीय सदस्य श्रवणकुमार पोखरेलले जिल्लाबाट प्राप्त प्रश्नपत्रको सिलबन्दी खोलेर सम्बन्धित संयोजकलाई हस्तान्तरण गरेपछि प्रतियोगिता औपचारिक रूपमा सुरु भएको हो।
ECA कार्यक्रमअन्तर्गत विभिन्न विधामा विद्यार्थीहरूबीच प्रतियोगिता सञ्चालन भइरहेको प्याब्सन दमकले जनाएको छ। कार्यक्रमका लागि विभिन्न विधाअनुसार निरीक्षकसमेत तोकिएको छ।
प्रतियोगितामा हस्तलेखन, चित्रकला, कलरिङ, डिक्टेसन, निबन्ध लेखन, कविता, वक्तृत्वकलालगायतका विधा समावेश गरिएको छ। विद्यालय तहअनुसार विभिन्न समूहमा प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमले विद्यार्थीको सिर्जनात्मकता, प्रतिभा तथा अतिरिक्त क्षमताको पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।