क्षयरोग कार्यक्रमको योजना तर्जुमा तथा वार्षिक समीक्षा

Author Nishkarsha News
२०८३ भाद्र १०, बुधबार १८:२८

कमल/  कमल गाउँपालिका र अन्तर्गतका स्वास्थ्य संस्थाहरूको “क्षयरोग कार्यक्रमको योजना तर्जुमा, कोहोर्ट विश्लेषण तथा कार्यक्रमहरूको वार्षिक समीक्षा” कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा कमल गाउँपालिका अन्तर्गत सञ्चालित क्षयरोग कार्यक्रमको गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति, उपलब्धि, कोहोर्ट विश्लेषण, उपचार नतिजा तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका विषयमा विस्तृत समीक्षा तथा छलफल गरिएको थियो । साथै, आगामी आर्थिक वर्षका लागि क्षयरोग नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक योजना, कार्ययोजना तथा कार्यान्वयन रणनीतिबारे छलफल गरी प्रतिबद्धता समेत गरिएको थियो ।
कार्यक्रमलाई कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहाल, स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत खुश्बु राई तथा क्षयकुष्ठ अधिकृत बिरेन्द्र दासले सहजीकरण गरेका थिए । कार्यक्रममा कमल गाउँपालिकाअन्तर्गतका डट्स सेन्टरका क्षयकुष्ठ कार्यक्रम फोकल पर्सन तथा माइक्रोस्कोपी सेन्टरका ल्याब फोकल पर्सनहरूको सहभागिता रहेको थियो ।
हाल कमल गाउँपालिकामा कमल नगर अस्पताल, लखनपुर स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल–०१, बाँसबारी गरी तीन वटा स्वास्थ्य संस्थामा डट्स सेन्टर तथा ई.टी.बी. कार्यक्रम सञ्चालनमा रहेको छ । त्यसैगरी, कमल नगर अस्पताल, कमल–०२ र लखनपुर स्वास्थ्य चौकी, कमल–०६ मा माइक्रोस्कोपी सेन्टर सेवा उपलब्ध रहेको कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले जानकारी दिए ।
कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित क्षयरोग कार्यक्रमको समग्र अवस्था, उपलब्धि तथा चुनौतीहरूको समीक्षा गर्नुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा कार्यक्रमहरू तयार गरी कार्यान्वयनका लागि प्रतिबद्धता गरिएको थियो। क्षयरोगको समयमै पहिचान, निदान तथा उपचारमा निरन्तरता कायम गर्दै समुदायस्तरमा क्षयरोग खोजपड्ताल तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।
कार्यक्रमले क्षयरोग नियन्त्रणका लागि स्थानीय तह, स्वास्थ्य कार्यालय तथा स्वास्थ्य संस्थाबीचको समन्वयलाई थप मजबुत बनाउँदै आगामी दिनमा क्षयरोगको पहिचान, निदान, उपचार तथा नियन्त्रणका गतिविधिलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्