दमक/ दमक नगरपालिका–४, जनचेतना टोलका भिमारजनक बारकोटीको घरमा शनिबार राति करिब १२ः३० बजे अचानक आगलागी भएको छ । बारकोटीका छोरा बिरामी भएर परिवारका सदस्यहरु सबै अस्पतालमा भएको समयमा राती घरमा अचानक आगलागी भएको स्थानीय दिपेश दाहालले जानकारी दिए । आगलागीका कारण घर पूर्ण रूपमा जलेको र घरभित्र रहेको ग्याँस सिलिन्डरसमेत पड्किएको छ ।
घटनालगत्तै दमक नगरपालिका र उर्लाबारी नगरपालिकाको बारुणयन्त्रको सहायतमा आगो निभाइएको थियो । घटनामा गाई तथा अन्य चौपायाहरू गम्भीर रूपमा प्रभावित भएका छन्।
घटनापछि तत्कालै दमक–४ को वडा कार्यालयबाट १९,००० रुपैयाँ बराबरका भाँडाकुँडा, ग्याँस तथा कपडालगायतका आवश्यक सामग्री सहयोग गरिएको छ । त्यसैगरी, दमक नगर प्रमुख राम थापाले पीडित परिवारका लागि तत्काल खाद्यान्न सहयोग उपलब्ध गराएका छन् ।
आगलागीपछि बारकोटीको परिवार आफन्तको शरणमा बसेका छन् ।
दमक–४ को जनचेतना टोलमा आगलागी, पीडित परिवारलाई तत्कालिन राहत
Nishkarsha News
२०८३ भाद्र ७, आईतवार १०:४६