गरिमाको न्यायका लागि झापामा व्यापक प्रदर्शन , बलात्कारको घटनाका दोषीलाई फाँसीको सँजाय दिन माग

Author Nishkarsha News
२०८३ भाद्र ६, शनिबार २१:३६

झापा/ तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा झापासहित देशभर महिला तथा अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूको आह्वानमा प्रदर्शन जारी छ । यसै क्रममा शनिबार साँझ प्रधानमन्त्री बालेन्द्र साहको निर्वाचन क्षेत्र झापा–५ मा पनि मेची–महाकाली बुहारी संयुक्त आवाजको अगुवाईमा स्वतःस्फूर्त रूपमा पाँच सयभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीहरूले दमकको मुख्य बजार क्षेत्र हुँदै विभिन्न स्थानमा प्रदर्शन गरे । उनीहरुले बालिका गरिमा चौधरीका लागि न्यायको माग गरेका थिए । उनीहरूले बलात्कार तथा हत्या जस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिलाउनुपर्ने र बालिका तथा महिलाको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्ने माग राखेका छन्। प्रदर्शनकारीहरुले यस किसिमका जघन्य अपराधको घटनामा संलग्नलाई फाँसीको सजाय दिइनु पर्ने आवाज पनि उठाएका छन् ।

प्रचलित कानुनले यस किसिमका अपराधीहरुलाई फाँसी दिन सकिने व्यवस्था नगरेको भन्दै कानुन संशोधन गरेरै भए पनि यस्ता घटनामा संलग्न जो कोहीलाई फाँसीको सजाय दिइनु पर्ने अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला दाहालको भनाई छ । प्रदर्शनपछि सहभागीहरू दमकस्थित गणतन्त्र चोकमा भेला भएका थिए । त्यहाँ उनीहरूले गरिमाको आत्माको चिरशान्तिको कामना गर्दै सामूहिक रूपमा दीप प्रज्वलन गरेका छन्।
प्रदर्शनमा सहभागीहरूले घटनाविरुद्ध आवाज उठाउँदै न्यायका लागि निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।  बालिका तथा महिलामाथि हुने हिंसा र यौन अपराधका घटनामा राज्यको प्रभावकारी हस्तक्षेप र दोषीमाथि शीघ्र कानुनी कारबाही हुनुपर्ने उनीहरूको जोड छ । दमकमा भएको प्रदर्शनमा सहभागी हुन दमकका अतिरिक्त आसपासका पालिकाहरुबाट पनि ठुलो संख्यामा विशेष गरि महिलाहरु आएका थिए ।
बुबा आमालाई काठमाडौं लगियो
बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई काठमाडौँ लगिएको छ ।
शनिबार गरिमाका बुवा मनोज र आमा मानमतीलाई स्थानीय अभियन्ताहरूसँगै काठमाडौँ ल्याइएको हो। उनीहरूसँग गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा वार्ता र छलफल हुने बताइएको छ ।
छलफलमा बालिका गरिमा चौधरीको हत्या प्रकरणको निष्पक्ष अनुसन्धान, दोषीलाई कडा कारबाही तथा पीडित परिवारका माग र राहतका विषयमा कुराकानी हुने बताइएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्