चुलाचुली / इलामको चुलाचुली गाउँपालिकाले आफ्नै भूमि व्यवस्थापन शाखा मार्फत मालपोत तथा नापीसम्बन्धी सेवाको भव्य समारोहबीच औपचारिक शुरुवात गरेको छ ।
आइतबारेस्थित गाउँपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्दै सेवा शुभारम्भ गरिएको हो ।
तयार भएका जग्गाधनी प्रमाणपुर्जा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिलु लिम्बुले संयुक्त रूपमा वितरण गरेका थिए ।
अध्यक्ष केरुङले स्थानीय सरकारबाटै भूमि प्रशासन सेवा उपलब्ध हुन थालेपछि नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्न सकिने बताए ।
यसअघि मालपोत तथा नापीसम्बन्धी कामका लागि दुई दिनसम्मको समय र अतिरिक्त खर्च गरेर इलाम सदरमुकाम पुग्नुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाइ छ ।
अध्यक्ष केरुङले गाउँमै सेवा पाउने व्यवस्थाले सेवाग्राहीको समय र खर्च दुवै बचत हुने र स्थानीय सरकारप्रतिको नागरिकको भरोसा थप बलियो बन्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सेवा सञ्चालनका लागि आवश्यक कर्मचारी तथा व्यवस्थापनको तयारी पूरा भइसकेको जानकारी दिँदै भूमि प्रशासन र नापीसम्बन्धी सेवा अब गाउँपालिकाबाटै सहज रूपमा प्रवाह गरिने बताए ।

भूमि प्रशासन अधिकृत उत्सव कट्टेलका अनुसार विद्युतीय फोटो, औँठाछाप, दस्तखत तथा ‘ल्यान्ड ओनर आइडेन्टिफिकेसन नम्बर’ अर्थात् लिन कायम भएका जग्गाको खरिद–बिक्री, राजीनामा, हकछोड तथा लिखत पारितसम्बन्धी सेवा अब स्थानीय तहमै उपलब्ध हुनेछ ।
त्यसैगरी अंशवण्डा, नामसारी, मोही बाँडफाँड, कित्ताकाट, नक्सा प्रिन्ट, अभिलेख अद्यावधिक तथा राजस्व सङ्कलनलगायतका सेवा पनि गाउँपालिकाबाटै प्रदान गरिने उनले बताए । यसअघि कम्प्युटर सिस्टममा प्रविष्ट भएका जग्गा सम्बन्धी कामकाज मात्रै सो कार्यालयबाट हुने र पुराना तथा कम्प्युटरमा प्रविष्ट नगरिएका (लगभग २०७६ अघि)का धनीपूर्जाका हकमा भने जिल्लास्थित भुमि प्रशासन (साविक मालपोत ) कार्यालयले रेकर्ड उपलब्ध गराएमा मात्रै काम हुने कट्टेलले बताए ।
सेवा शुभारम्भ सम्बन्धी औपचारिक कार्यक्रमका वक्ताहरुले सेवा शुभारम्भ हुनु गर्वको बिषय भएको बताउँदै सेवालाई चुस्त दुरुस्त र प्रभावकारी तथा परिणाममुखी ढंगबाट प्रवाह गर्न आवश्यक भएकोमा जोड दिए । कार्यक्रमको सञ्चालन पालिकाका योजना अधिकृत सुबास लिम्बुले गरेका थिए ।