दमक/ जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भई खण्डहर बनेको दमक नगरपालिकाको प्रशासनिक भवन पुनःनिर्माणको प्रक्रिया अघि बढाइएको छ।
दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाका अनुसार गत साउन २६ गते बसेको कार्यपालिका बैठकले क्षतिग्रस्त प्रशासनिक भवन पुनःनिर्माण गर्ने निर्णय गरेको हो।
नगरपालिकाले करिब १० करोड रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत भवन पुनःनिर्माण गर्ने तयारी गरेको छ। निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नगर प्रमुख थापाले बताए।
उनका अनुसार तत्कालका लागि भवन पुनःनिर्माणको प्रक्रिया नगरपालिकाको आन्तरिक स्रोतबाट अघि बढाइनेछ।
आवश्यक प्रक्रिया पूरा गरी ठेक्का आह्वान गरिने नगरपालिकाले जनाएको छ। तस्बिरमा देखाइएको भवनको डिजाइनअनुसार नयाँ प्रशासनिक भवन आधुनिक, सुविधासम्पन्न तथा नगरपालिकाको प्रशासनिक कामकाज सञ्चालनका लागि उपयुक्त संरचनाका रूपमा निर्माण गरिने अपेक्षा गरिएको छ।