बिर्तामोड/ बचत तथा ऋण सहकारी संघ झापाको १६औँ स्थापना दिवस तथा अन्तरक्रिया कार्यक्रम आज मंगलबार बिर्तामोडस्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ।
संघका अध्यक्ष युवराज गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का महासचिव घनश्याम अधिकारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रादेशिक बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष चन्द्रकुमारी खड्का भट्टराई विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्।
त्यसैगरी जिल्ला सहकारी संघ झापाका कोषाध्यक्ष केशव बस्नेत, सहसचिव टसबहादुर श्रेष्ठ तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन संघका सचिव विनोद ढकालले गरेका थिए भने सदस्य हिमालयप्रसाद कन्दङ्गवाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
स्थापना दिवससँगै आयोजित अन्तरक्रिया कार्यक्रममा २० करोड रुपैयाँभन्दा बढी कारोबार तथा पुँजी भएका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा बचत तथा ऋण सहकारी संस्थाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको आयोजकले जनाएको छ।