दमक/ नेपाल विद्युत् प्राधिकरणले झापाको दमक, गौरादह र सुनसरीको इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ।
जुरोपानी ३३र११ केभी सबस्टेशनलाई छुट्टै ३३ केभी लाइनबाट सञ्चालनमा ल्याइएपछि दमक र गौरादह वितरण केन्द्रबीचको प्रणालीगत निर्भरता घट्दै फल्टको प्रभाव न्यूनीकरण र आपूर्ति विश्वसनीयता वृद्धि भएको छ।
यसबाट दमक फिडरको पूर्ण सञ्चालन, दमक तथा उर्लाबारी क्षेत्रको पावर इम्पोर्ट क्षमता वृद्धि र प्रणाली सञ्चालनमा सुधार हुने अपेक्षा गरिएको छ।
इटहरी–खनार क्षेत्रमा फिडर विभाजन तथा नयाँ जुट विकास फिडर निर्माणमार्फत लामो दूरीको एउटै फिडरमा रहेको भार घटाइएको छ।
यसले ओभरलोड तथा भोल्टेज ड्रप घटाउनुका साथै भार व्यवस्थापन, आपूर्ति पुनःव्यवस्थापन र विद्युत् गुणस्तरमा सुधार ल्याउनेछ।
समग्रमा, यी सुधारहरूले दमक, गौरादह र इटहरी क्षेत्रमा थप भरपर्दो, गुणस्तरीय, सुरक्षित र दिगो विद्युत् आपूर्ति सुनिश्चित गर्न योगदान पुर्याउनेछन्।