झापा / झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार दिउँसो करिब ४ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुर्गापुर बजारमा दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१ प ३९२९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी अर्जुनधारा नगरपालिका–९ निवासी ५० वर्षीया मीरा देवी गौतमलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा साँझ ४ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–३ निवासी ३१ वर्षीय गोपाल रम्तेलको अनुहारमा चोट लागेको छ। उनको सुरुङ्गास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ। घटनापछि मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक रम्तेललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।