विराटनगर/ भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको विराटनगरस्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको घर पुनर्निर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट कोइराला परिवारले नलिने घोषणा गरेको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा जननायक विपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मत तथा पुनर्निर्माणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट नलिने घोषणा गरेका हुन् ।शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै डा. कोइरालाले पत्र लेखेर सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोक, मोरङस्थित कोइराला निवासको मर्मत तथा संरक्षणका लागि छुट्याएको रकमप्रति आभार व्यक्त गर्दै उक्त बजेट नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन् ।उनले देशका आम नागरिक गरिबी, अभाव र अनेकौं कठिनाइसँग जुधिरहेका बेला सीमित राज्य स्रोत जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा खर्च हुनुपर्ने उल्लेख गर्दै कोइराला निवासका लागि छुट्याइएको बजेट फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।
पत्रमा डा. कोइरालाले गत वर्षको जेनजी आन्दोलनका क्रममा कोइराला निवासमा आगजनी भएको घटनाले ऐतिहासिक सम्पादमा क्षति पुगेको स्वीकार गरे पनि त्यसको पुनर्निर्माणका लागि अहिले राज्यको बजेट प्रयोग गर्नु उपयुक्त नहुने धारणा राखेका छन् ।
उनले आफ्ना पिता कृष्णप्रसाद कोइरालाले सुरु गरेको सामाजिक तथा शैक्षिक जागरणको अभियान र विपी कोइरालाको नेतृत्वमा लोकतान्त्रिक आन्दोलनले नेपाली समाजमा पुर्याएको योगदान स्मरण गर्दै कोइराला निवास केवल एउटा घर नभई लोकतान्त्रिक चेतनाको प्रतीक भएको उल्लेख गरेका छन् ।
पत्रको उनले विपी कोइरालाले जीवनभर नेपाली जनताको गाँस, बास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै विपीप्रति सच्चा श्रद्धाञ्जली भनेको जनताको हितमा राज्यको स्रोत परिचालन गर्नु भएको बताएका छन् ।