गाउँकै अस्पतालमा भिडियो एक्सरे सेवा पाउँदै कमलबासी

Author Nishkarsha News
२०८३ श्रावण १९, मंगलवार ११:३२

कमल / झापाको कमल गाउँपालिकाको दक्षिण (ग्रामिण ) क्षेत्रमा गाउँपालिकाद्धारा सञ्चालनमा आएको कमल नगर अस्पतालले स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई विस्तार गर्ने क्रममा अब साताको दुई दिन भिडियो एक्सरे सेवा सञ्चालन गर्ने भएको छ । श्रावण २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे सेवा सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।
कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले कमलबासीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै भिडियो एक्स–रे सेवा सञ्चालन गर्ने निर्णय गरेको शाखा प्रमुख दाहालले बताए ।

स्थानीय नागरिकलाई स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्दै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै पालिकाभित्र सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष राईले बताए ।

भिडियो एक्स–रे सेवा सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिला, महिला स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी तथा चिकित्सकको सिफारिसमा भिडियो एक्स–रे आवश्यक पर्ने अन्य बिरामीहरूलाई थप सहज हुने स्थानीय सरकारको विश्वास छ ।

अध्यक्ष राईले कमल नगर अस्पताललाई आधुनिक, व्यवस्थित, प्रविधिमैत्री तथा नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यअनुसार अस्पतालको सेवा तथा पूर्वाधार विस्तारमा जोड दिइँँदै आएको बताए ।
यसअघि नै कमल नगर अस्पतालले मानसिक स्वास्थ्य विशेषज्ञसहितको सेवा, दन्त सेवा तथा आँखा सेवा विस्तार गरिसकेको छ। भिडियो एक्स–रे सेवासमेत थपिएसँगै अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवाको दायरा अझ फराकिलो हुने भएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, स्वास्थ्य शाखा प्रमुख दाहाल अस्पताल प्रमुख तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

भिडियो एक्स–रे सेवा सञ्चालनसँगै स्थानीय नागरिकले समय तथा खर्च बचत गर्दै आफ्नै पालिकामा आवश्यक स्वास्थ्य जाँच तथा उपचार सेवा लिन पाउने अपेक्षा गरिएको छ । तोपगाछी स्वास्थ्य चौकीलाई २०७९ नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेसँगै कमल नगर अस्पतालको रुपमा स्तरोन्नती गरी स्वास्थ्य बीमा कार्यक्रमसहितको सेवा सञ्चालनमा ल्याइएपछि सर्वसाधारणहरुले सामान्य उपचारका लागि ठुला शहर बजारमा धाउनु पर्ने बाध्यता हटेको छ । यो अस्पतालमा बर्षेनी १२ देखि हजार सर्वसाधारणले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

यहाँबाट कमल गाउँपालिकाका अतिरिक्त छिमेकी पालिकाहरु गौरादह , गौरीगञ्ज र शिवसताक्षीका बासिन्दाले पनि सेवा लिँदै आएका छन् । अस्पतालमा नियमित रुपमा ओपिडी सेवा, फार्मेसी सेवा र ल्याब सेवा सञ्चालनमा छ । त्यस्तै यो अस्पतालले सुरक्षित प्रसुति सेवा पनि दिँदै आएको छ । गत आर्थिक बर्षमा यो अस्पतालमा १२ जनाले सुरक्षित प्रसुती सेवा लिएका छन् । यहाँ सुत्केरी गराउन आउने महिलालाई प्रोत्साहन स्वरुप सुत्केरी पोषण सामग्री दिइँदै आएको छ भने कमल गाउँपालिकाबाट जुनसुकै अस्पतालमा पनि सुत्केरी सेवाका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्