काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमजस्ता संवेदनशील विषयमा प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री स्वयं उपस्थित भएर घटनाको सत्यतथ्यबारे राजनीतिक दलहरूलाई जानकारी गराउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।
उनले बैठकले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सामूहिक अपिल गर्ने निर्णय गरेको जानकारी दिँदै सरकारको नेतृत्व कमजोर देखिएको टिप्पणी गरे ।
लिङ्देनले तराई–मधेस क्षेत्रमा विशेषगरी हिन्दु धर्मावलम्बीहरूको चाडपर्वका समयमा पटक–पटक यस्ता घटना दोहोरिनु गम्भीर विषय भएको बताए । सुरक्षा व्यवस्थामा देखिएको कमजोरीप्रति प्रश्न उठाउँदै उनले प्रहरीद्वारा गोली प्रहार हुनुपर्ने अवस्था सिर्जना हुनु र त्यसलगत्तै सेना परिचालन गर्नुपर्ने परिस्थिति आउनुले सुरक्षा संयन्त्र चुकेको दाबी गरे ।
‘यसलाई केवल एउटा स्थान विशेषको घटनाका रूपमा मात्र हेरिनु हुँदैन । सरकारले यस समस्याको जडसम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्छ । बहुमतको सम्मान र अल्पसङ्ख्यकको संरक्षण हुनेगरी राज्यले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ,’ उनले भने ।