दमक/ देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक विषयले चर्चा पाइरहदा आज दमक नगर इसाई समाजले दमकमा महत्वपूर्ण कार्यक्रम गरेको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर दमक नगर इसाई समाजले मंगलबार ४८औँ बृहत् खुला रक्तदान तथा खेलाडी तथा बिध्यार्थीलाई सम्मन कार्यक्रम गरेको छ।
सो अवसरमा ४० महिलासहित कुल १०२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक युवराज गजमेरले जानकारी दिए । धार्मिक सहिष्णुता, मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजका पुर्व अध्यक्ष आकाश थुलुङले बताए ।
कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका तीन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ रजत पदक जित्न सफल दमक–५ निवासी रेशिका धिमाललाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो।
दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष राजकुमार नाछिरिङ राईले शान्ति प्रार्थना गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । समाजका पूर्वअध्यक्ष आकाश थुलुङ राईले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारे ।
कार्यक्रमको सञ्चालन समाजका सचिव अजय पाठकले गरेका थिए भने कोषाध्यक्ष हरि राईले स्वागत मन्तव्य राखेका थिए ।
आयोजकले रक्तदानलाई जीवनदानको अभियानका रूपमा निरन्तर अगाडि बढाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवीय सेवाको संस्कृतिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।