सम्बन्धविच्छेद दर्तामा घुस लिने गौरीगञ्ज १ का वडा सचिव पक्राउ

Author Nishkarsha News
२०८३ श्रावण ११, सोमबार १८:३०

झापा /  झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई रु. १० हजार घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १०,००० घुस लिइसकेको अवस्थामा सोही वडास्थित कुञ्जीबारी बजारको एक होटलबाट सोमबार दिउँसो कार्यालय समयमा पक्राउ गरेको हो ।

अख्तियारका अनुसार बरामद भएको घुस रकमसहित साहलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्