दमक/ उपभोक्ता समितिहरुका नाममा अनियमितता बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहरपछि झापाको दमक नगरपालिकाले नगर भित्र उपभोक्ता समितिहरु मार्फत सञ्चालन गरिने योजनाहरुमा कडाइँ गरेको छ ।
नगर भित्रका सबै वडा कार्यालयहरुलाई नगरपालिकाको कार्यापालिका बैठकले उपभोक्ता समिति मार्फत सञ्चालन हुने विकासे योजनाहरुका बिषयमा कडाइँ गर्दै वडा कार्यालयहरुलाई सो सम्बन्धनमा ९ बँुदे निर्देशनात्मक पत्राचार गरेको जनाइएको छ ।
अख्तियारले स्थानीय तहहरुमा उपभोक्ता समिति मार्फतका योजनाहरुको बिषयमा अधिक उजुरी परेकाले तिनीहरुको प्रारम्भिक छानविनपछि स्थानीय तह(नगरपालिका÷गाउँपालिका)हरुलाई निर्देशन गरेको थियो ।
अख्तियारको सो निर्देशन पछि बसेको दमकको कार्यपालिका बैठकको निर्णयानुसार वडा कार्यालयहरुलाई गरिएको पत्राचारमा उपभोक्ता समितिमा राजनीतिक दलका पदाधिकारी, सरकारी कर्मचारी,शिक्षक र निर्वाचित जनप्रतिनिधिहरुलाई राख्न रोक लगाएको छ ।
त्यस्ता व्यक्ति सम्मिलित उपभोक्ता समितिहरुले विभिन्न आड र प्रभावमा राज्यकोष र सर्वसाधारण उपभोक्ताहरुको लगानी दुरुपयोग र अनियमितता गरेकाले अख्तियारले उनीहरुलाई उपभोक्ता समितिमा बस्न रोक लगाएको हो । समिति गठन गर्दा सम्बनिधत उपभोक्ताहरुको भेला वडा समितिका पदाधिकारीको रोहबरमा गर्नुपर्ने पनि जनाइएको छ ।
वडा कार्यालयहरुलाई गरिएको पत्राचारमा उपभोक्ता समिति मार्फत गर्ने भनिएका विकासे योजनाहरु निर्माण व्यवसायीलाई दिन पनि रोक लगाइएको छ । समितिले योजना सम्पन्न गराउने क्रममा प्रयोग गर्ने मेसिनरी उपकरणहरुको विवरण सम्झौता बखतनै खुलाउनु पर्ने, एकै व्यक्ति वा एकै परिवारको सदस्य एउटै समयमा उपभोक्ता समितिमा बस्न नपाउने, उपभोक्ता समिति मार्फत बनेका योजनाहरुको हस्तान्तरणपछि सो को संरक्षण उपभोक्ता समितिले नै गर्नुपर्नेपनि उल्लेख छ ।