दमक/ आफ्नै अनुयायी एक महिलामाथि बलात्कारको आरोप लागेका धरानको चतराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई विराट नर्सिङ होमबाट प्रहरीले अदालत तर्फ लगेको छ ।

४ दिन अघि जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई पक्राउ गर्न आदेश दिएको थियो । तर उनी सामान्य रक्तचाप बढेपनि सिकिस्त विरामी भएको नक्कल पार्दै विराट नर्सिङ होममा भर्ना भएका थिए । त्यस लगत्तै प्रहरीले सिद्धबाबामाथि बलात्कारको आरोप लगाउने महिलाले सिद्धबाबालाई फेसबुक म्यासेन्जरमा एकोहोरो ५२ पृष्ठ लामो म्यासेज लेखेको भन्दै म्यासेजका केही अंश विभिन्न माध्यमबाट बाहिर ल्याएको थियो ।

प्रहरीले अनुसन्धान गर्नुपर्ने सामाग्री एकाएक बाहिर ल्याएपछि नियतमाथि प्रश्न उठेको थियो । तर पछिल्लो समय सिद्धबाबाले गल्ती स्वीकार्न सक्ने आशयका अडियो क्लिपहरु बाहिर आएपछि प्रहरी उनलाई पक्राउ गर्न बाध्य भएको हो । यद्यपी प्रहरीले ४ दिन अघिदेखिनै प्रहरी निगरानीमा गिरी अस्पतालमा रहेको प्रष्टोक्ती दिदैं आएको थियो । प्रहरी स्रोतले जनाए अनुसार गिरीलाई केहि बेर अघि अस्पतालबाट निकालेर सुनसरी जिल्ला अदालत तर्फ लैजाने तयारी छ । अदालतले गिरीलाई थुनामा राख्ने आदेश दिने हो कि छोड्ने आदेश दिने हो भन्ने जिज्ञासा बढेको छ ।

Facebook Comments Box