दमक/ नेकपा एमालेको जारी १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान प्रकृयामा जाने निधो भएसँगै नेताहरु आफ्नो समुहबाट विभाजित भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको प्यानल ( समुह) मा पर्ने उम्मेदवारले चुनाव जित्न सक्ने आंकलन गर्दै उनको क्याम्पमा पर्ने आशा गरेका पदाधिकारी लेबलका नेताहरु पनि ओलीको समुहमा नपरेपछि भित्र भित्रै असन्तुष्ट छन् ।
कतिपय इश्वर पोखरेलको प्यानलमा परेर चुनाव जित्ने अठोटसहित सो समुहतर्फ देखिएका छन भने कतिपय स्वतन्त्र (दुवै प्यानल)मा नपरेका पनि देखिएको छ ।
विशेष गरी पार्टी अध्यक्ष ओलीको गृह जिल्ला त्यसमा पनि ओलीको आफ्नो निर्वाचन क्षेत्रका धेरै भन्दा धेरै आकांक्षीहरु उनको समुहमा परेका छन् ।
तर ओलीको निकट रहेर उनको पक्षमा खुलेर लागेका केही झापाली नेताहरु पनि अहिले ओलीको कोर टिममा परेनन् ।

ओलीको निर्वाचन क्षेत्र अन्तर्गतका हाल कोशी प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेका गौरादहका हिक्मत कार्की ओली समुहबाट सचिव पदको उम्मेदवार बनेका छन भने गौरादहकै बासिन्दा तथा पोलिटब्यूरो सदस्य भइसकेका पूर्व मन्त्री अग्नी खरेल भने ओलीको कोर टिममा परेनन् । खरेल ओलीको टिममा नपरेपछि पार्टी भित्र स्वतन्त्र रुपले सचिव पदको उम्मेदवार बनेका छन् ।
सचिव पदमै उम्मेदवारी घोषणा गरेका अर्का झापाली नेता देवेन्द्र दाहाल भने केन्द्रिय सदस्यको मात्रै उम्मेदवार बनेका छन् । यसले ओलीको गृह जिल्लामा धेरै समय अघिदेखि देखिएको खरेल– कार्की , दाहाल पक्षबीच टकराव बढाएको छ । जसको प्रत्यक्ष असर अध्यक्ष ओलीलाई पर्ने देखिन्छ ।

खरेल र कार्की पक्षधर मात्रै छैनन झापामा ओली समुह भित्रै गोविन्द थापा र होमबहादुर थापा, दाजु भाई र उनै थापा परिवारका नातेदार रोमनाथ ओलीसहितको समुह छ । संयोग यस्तो छ कार्की परिवारका दिपक कार्की पनि केन्द्रिय सदस्यका लागि ओली समुहमा परेका छन् । संविधान सभा सदस्य समेत भइसकेका दिपक र हालका सचिवका उम्मेदवार हिक्मत कार्की एकै परिवारका दाजुभाई हुन् ।
एमालेको ओली समुह भित्र एकै परिवारका एउटै भुगोल (क्षेत्र ५ ) का दाजुभाई ( कार्की दाजु भाई र थापा दाजु भाई, भिनाजु रोमनाथ ओली) समेत अटाए पनि ओलीको क्षेत्र नं ५ कै नेता खरेल अटाउन सकेनन् । आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् ।
क्षेत्र नं ५ सँगै जोडिएको अर्को क्षेत्र नं ४ मा दुई पटक सम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर एमालेको किल्ला बनाउन सफल भएका उद्योगी व्यवसायी नेता समेत रहेका लालप्रसाद (एलपी) साँवा पनि ओलीको समुहमा अन्तत अटाउन सकेनन् । उनी २०७४ र २०७९ को दुवै निर्वाचनमा ग्रामिण इलाका समेट्ने भुगोल क्षेत्र नं ४ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेता हुन् ।
उनकै अगुवाईमा झापा इनर्जी लिमिटेड स्थापना गरी झापामा सौर्य उर्जा उत्पादन गरी ठुलो संख्यामा पार्टी नेता, कार्यकर्ता र सर्वसाधारणलाई आर्थिक समृद्धिको बाटोमा डोहोरयाउने काम साँवाले गरिरहेका छन् । नेपाल उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत रहेका साँवा कार्यकर्ता परिचलान र आफ्ना क्षेत्रबासीलाई नजिकबाट हेर्ने र दुखसुखमा साथ दिने नेताका रुपमा चिनिन्छन् ।
पार्टीको कोशी प्रदेश कमिटी सदस्य र यसपटकको महाधिवेशन प्रतिनिधि छनोट निर्वाचनमा समेत सर्वाधिक मत ल्याएर साँवा महाधिवेशनमा केन्द्रिय सदस्य बन्ने इच्छा राखेर अघि बढेका थिए । ओलीले आफ्नो समुहमा नराखे पनि साँवा पोखरेल समुहमा गएका छैनन् । तटस्थ रुपमा रहेका साँवाको भुमिकाले यो महाधिवेशनमा विशेष अर्थ र महत्व राख्ने विश्लेषण एमाले वृत्तमा छ ।

साँवा ओली समुहमा नपरे पनि ओलीकै क्षेत्रका इन्द्र भण्डारी, चिन्तन पाठक , निर्मला पाठक , जलवर्षा राजवंशी , मेनुका काफ्ले , गीता अधिकारी र सुनिता बराल भने उनको समुहमा अटाएका छन् । मेची नगरकी मीना उप्रेतीले पनि सोही समुहबाट उम्मेद्वारी दिएको बुझिएको छ । उता इश्वर पोखरेलको प्यानलबाट झापाका तर्फबाट रविन कोइरालाले मात्र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् ।

सुहाङलाई किन अटाएनन ओलीले ?
झापासँगै जोडिएको इलामका सुहाङ नेम्वाङ पनि ओलीको समुहमा अटाउन सकेका छेनन् । पछिल्लो समय विघठित संसदमै ओली सरकारले चालेका इम्बोस्ट नम्बर प्लेट लगायतका कतिपय कदमबारे असन्तुष्टि राखेका युवा नेता नेम्वाङ स्वर्गीय सुवास नेम्वाङका सुपुत्र हुन् । उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन् । छोटो समयमै उनले बुबा जस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन् ।
इलाम २ मा भएको उपनिर्वाचनमा उनी एमालेबाट विजयी बनेका थिए । एमालेको युवा पङ्तिले उनी संस्थापन पक्षको लिस्टमा अटाउने अपेक्षा गरेको थियो । तर, अटाउन नसकेपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएका हुन् ।

Facebook Comments Box