झापा/ नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिको ध्यान खिच्दै आएको झापाको क्षेत्र नं ५ मा युवा नेता अइन्द्रविक्रम केरुङलाई उठाउने लगभग पक्का जस्तै भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मुकाबिला गर्न कांग्रेसको बिद्यार्थी संगठनदेखिनै सक्रिय नेतृत्व लिँदै आएका महासमिति सदस्य समेत रहेका केरुङनै मैदानमा उत्रिने सम्भावना बलियो देखिएको हो ।
पार्टीको वडा तहदेखिनै भएको छलफल तथा सिफारिस प्रक्रियामा उनको नाम शीर्षस्थानमा रहेको छ । पार्टीको क्षेत्रीय समिति र जिल्ला समिति दुवैले उम्मेदवार सिफारिस गर्दा केरुङको नाम एक नम्बरमा राखेको छ । केरुङ क्षेत्र–५ मा ‘हेभिवेट’ प्रत्यासीका रूपमा उभिने लगभग पक्का जस्तै भएको नेपाली कांग्रेसका उच्च तहका नेताहरुले समेत बताएका छन् ।
ओलीको राजनीतिक आधार क्षेत्र मानिएको झापा ५ को यो भुगोलमा ओलीलाई काउण्टर दिन कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रमहरुमा व्यक्त भएको भावना अनुरुप दमक बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भइसकेर युवा बिद्यार्थीहरुमाझ लोकप्रिय स्थानीय युवा नेता केरुङलाई खडा गरेको हो ।
दमक–१ का स्थायीबासिन्दा केरुङ सादा जिवनशैली , मिलनसार स्वभावका मानिन्छन् । विद्यार्थी राजनीतिबाट उदाएका उनले एमालेको पकड क्षेत्र मानिएको दमकमा रहेको दमक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा जित निकालेर चुनावी यात्रा शुरु गरेका हुन् । त्यस यता संसदीय फाँटमा उनी चुनाव लड्नबाट बञ्चित हुँदै आएका थिए तर पार्टीको आन्तरिक अधिवेशनमा भने उनी १३ औं महाधिवेशनमा पहिलो पटक प्रतिनिधि निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा उनले फड्को मार्दैै महासमिति सदस्यको निर्वाचन समेत लोकप्रिय मतसहित जितेका हुन् । उनको उम्मेदवारीले दमकको स्थानीय मत , गौरादह, कमल र गौरीगञ्जको समेत प्रभावित मत तान्न सक्ने, एमाले अध्यक्ष ओलीका बिषयमा देशव्यापी रुपमा देखिएको असन्तुष्टि जस्ता कारणले केरुङ आगामी निर्वाचनमा ओलीसँगको बलियो प्रतिस्पर्धामा उत्रिन सक्ने अनुमान स्थानीय वृत्तमा हुन थालेको छ ।