इटहरी/ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला पूर्वको प्रसिद्ध धार्मिकस्थल चतराका सिद्धबाबा नामले चिनिने कृष्णदास गिरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । सो स्थानमा बसेकी एक जना अनुयायी महिलालाई गत कार्तिक ४ गते अघि बोलाएर बलात्कार गरेको आरोपमा उनलाई आज शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार नै कृष्णदासविरुद्ध मुद्दा दायर गरेर प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । मुद्दा दर्ता नगरी सिद्धबाबालाई पीडक पक्षको दबाबमा पक्राउ समेत नगरिएको भन्दै आज शुक्रबार नयाँ पत्रिका दैनिक लगायतका सञ्चारमाध्यमहरुले प्राथमिकतासाथ समाचार प्रकाशन गरेका थिए ।
यद्यपी कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक भने गरेको छैन । तर प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने कृष्णदास गिरी बिहीबार बिहानैदेखि प्रहरी नियन्त्रणमा भएको बताएका छन् । जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी लिएर मात्रै सिद्धबाबालाई सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ । सिद्धबाबामाथि आफ्नै अनुयायी महिलामाथि गएको कात्तिक ४ गते बलात्कार गरेको आरोप लागेको छ । ती महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी छिन् ।

Facebook Comments Box