दमक/ चैत्र १५ मा काठमाडौंमा भएको प्रदर्शनको क्रममा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेको भन्दै सोको बिरोमा सोमबार साँझ राप्रपाले दमकमा मसाल जुलुश प्रदर्शन गरेको छ ।
दमक ७ स्थित पार्टी कार्यालयबाट निस्किएका राप्रपा नेता, कार्यकर्ता र समर्थकहरुको समुहले दमकस्थित गणतन्त्र चोक सम्म राँको बोकेर जुलुश प्रदर्शन गरेका हुन् ।
साँझ पख जुलुश निस्किँदा सशस्त्र, जनपथ र ट्राफिक प्रहरी हाइ अलर्टमा देखिएका थिए । प्रहरीले प्रदर्शनकारीहरुको हातबाट आगोको राँको खोस्न खोज्दा दुई पक्षबीच घम्साघम्सी परेको भएपनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
प्रदर्शनपछि गणतन्त्र चोकमा आयोजित बिरोध सभालाई राप्रपा सम्बद्ध युवक संगठनका केन्द्रिय उपाध्यक्ष राजकुमार योङयाले सम्बोधन गर्दै राजसंस्था पुनसंस्थापना आफूहरुको प्रमुख एजेण्डा भएको बताए ।
काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रदर्शनकारी पूर्व राजाका समर्थकहरुले लगाएको आगोमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
राजसंस्था पुनःस्थापनाको आन्दोलनमा पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा र उपाध्यक्ष रबिन्द्र मिश्रसहितको रिहाइको मुख्य मागसहित राप्रपाले काठमाडौंसहित विभिन्न ठाउँमा प्रदर्शन गरेको हो । राप्रपाले कमल गाउँपालिकाको साविक लखनपुर खण्डमा पनि प्रदर्शन गरेको छ । त्यहाँ राप्रपाले मसाल जुलुश निकालेर गरेको प्रदर्शनका क्रममा प्रहरीले रोक्न खोजे पनि लक्षित प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

Facebook Comments Box