दमक/ काठमाडौंमा शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।
महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार रजकलाई आगोमा जलाएर भएको हत्याको विरोधमा आज शनिबारनै विर्तामोडमा विरोध प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीका अनुसार दिउँसो १.३० बजे विर्तामोडको मुक्ती चोकमा झापाली पत्रकारहरुको सहभागितामा विरोध सभा गर्ने तयारी छ । महासंघले विरोध सभामा सहभागिताका लागि जिल्लाका सबै पत्रकारहरु र प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध सबै पक्षलाई समर्थन र ऐक्यद्धताका लागि अनुरोध पनि गरेको जनाइएको छ ।
पत्रकार रजक हिजो काठमाडौंमा भएको पूर्व राजावादीहरुको आन्दोलनको भिडिओ, फोटो खिच्ने क्रममा चढेको घरमा आन्दोलनकारीहरुले गरेको आगजनी, प्रहरीको अवरोध र उद्धारमा वेवास्ताका कारण आगोले जलेर रजकको मृत्यु भएको हो । श्रमजीवि पत्रकार रजक एभिन्यूज खबरमा आवद्ध थिए । उनी कार्यरत सञ्चार गृहले उनलाई नियमित रुपमा पारिश्रमिक नदिई काममा दबाब दिने गरेको, जीवन बीमा नगरिदिएको जस्ता तथ्यहरु पनि बाहिर आउन थालेका छन् । सो सञ्चार गृह र मालिक भाष्करराज कर्णीकारलाई समेत कारवाही गर्नुपर्ने आवाज सामाजिक सञ्जाल मार्फत बाहिर आएको छ ।