दमक/ झापाको दमक नगरपालिकाले आन्तरिक आयस्रोतको रुपमा रहेको व्यवसाय क्षेत्रमा गत मसिंरदेखि चैतको दोश्रो साता सम्ममा घरदैलो मार्फत अनुगमन गरी व्यवसायिक कर तथा विभिन्न शीर्षकमा हाल सम्म २७ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँको संयोजकत्वमा रहेको राजश्व परामर्श तथा अनुगमन समितिको अगुवाईमा सम्बन्धित शाखाका कर्मचारीहरुको सक्रिय सहभागितामा गरिएको अनुगमनका क्रममा सो प्रगति हासिल भएको हो ।
नगरपालिकाका राजश्व शाखा प्रमुख डम्बरराज बरालका अनुसार यस अवधिमा दमकको वडा नम्बर १, ७, ५, ८ र ९ तथा पछिल्लो समय वडा नम्बर ६ मा गरिएको व्यवसायिक क्षेत्र अनुगमनका सिलसिलामा २ हजार ४ सय बढी व्यवसायिक फर्म तथा पसलहरुमा पुगेर स्थलगत अनुगमन गर्दै व्यवसायीहरुका समस्या र गुनासाहरु सुन्ने र कर सम्बन्धि प्रशिक्षण समेत प्रदान गरिएको छ ।
सो क्रममा नयाँ कूल ३ सय ५ वटा व्यवसायिक फर्म तथा पसलहरुको व्यवसाय दर्ता गरिएको छ भने २ सय ५९ वटा पुराना व्यवसायी फर्मको नविकरण गरिएको छ । त्यस्तै ७ सय ३ वटा फर्मलाई पत्राचार गरिएको छ । सो क्रममा १ हजार ४ जना व्यवसायीहरुले आफ्नै पसलमा बसि बसि आफ्नो व्यवसाय वापतको राजश्व नगरपालिकालाई बुझाएका छन् । सो क्रममा व्यवसाय दर्ता रहेर पनि बन्द अवस्थामा रहेका २५ वटा व्यवसायीक फर्म बन्द रहेका पाइएको राजश्व शाखा प्रमुख बरालले जानकारी दिए ।

चालू आर्थिक बर्ष २०८१/०८२ मा दमक नगरपालिकाले पटक पटक विभिन्न माध्यमबाट राजश्व बुझाउन बुझाउन व्यवसायीहरुलाई अनुरोध गर्दा पनि राजश्व असुलीमा प्रगति हुन नसकेपछि नगरको बिकास निर्माण लगायत नगरबासीको सेवा सुविधामा प्रत्यक्ष असर पर्ने देखिएपछि व्यवसाय करमा १० प्रतिशत छुटको सुविधासहित नगरपालिकाको राजश्व टोली परिचलान गरिएको थियो ।
व्यवसाय अनुगमन सम्पन्न भएका वडाहरुमा व्यवसायको बक्यौता बुझाउन बाँकी, नविकरण गर्न बाँकी रहेका र नयाँ व्यवसाय सञ्चालन गरेर पनि दर्ता नगरिएका व्यवसायीहरुको विवरण सम्बन्धित वडामा पठाइएको राजश्व शाखा प्रमुख बरालले बताए ।
त्यस्तै बजार अनुगमन टोलीले दमकका केही व्यवसायिक साना उद्योगहरुले मापदण्ड विपरित उपभोक्ता स्वास्थ्यमा असर पुरयाउने किसिमको उत्पादन गरेको पाइएपछि दण्ड जरिवाना समेत असुल गरेको छ । १५ हजार रुपैयाँका दरले तीन वटा उद्योगलाई कारवाही स्वरुप जरिवाना गरेको जनाइएको छ ।