कता हिँडेको… बिजुली मारेर..
ल्वाँठ भएर,
स्वाँठ भएर..
कुलमान फालेर..
भ्रष्ट पालेर..
जनता हेरेको हेरै.. हामी हेरेको हेरै
सरकार गनायो धेरै..
सरकारले नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई हटाएर उनको ठाउँमा हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय गरे लगत्तै सामाजिक सञ्जालमा सरकारको निर्णय गलत भएको आशयसहित झापामा क्रियाशील पत्रकार बिमल लामिछानेले फेसबुकमा यस्तो लेखे ।
सत्तारुढ दल नेपाली कांग्रेसको पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरुदेखि राजनीतिक विश्लेषक, समिक्षक , विभिन्न क्षेत्रका अगुवाहरु र प्रतिपक्षी दलका शीर्ष नेताहरु समेतले प्राधिकरणको महानिर्देशकबाट कुलमानलाई हटाउने निर्णयको खुलेर विरोध गरिरहेका छन् ।
सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा कुलमानलाई हटाउने सरकारको निर्णयबारे सत्ता सहयात्री दल कांग्रेसको पदाधिकारी लेभलका नेताहरुबीचमा कुनै छलफल नभएको भनि बचाउ गरिरहेका छन् ।
महामन्त्रीद्धयले मात्रै होइन कांग्रेसको कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले पनि कूलमान हटाउने सरकारको निर्णयलाई सरकारले जनताको सेन्टिमेन्ट र समयलाई चिन्न नसकेको टिप्पणी गरेका छन् । तामाङले आफ्नो फेसुबक वालमा लेख्दै भनेका छन– हुन त एउटा सरकारले उसको कर्मचारीलाई हटाउने सामथ्र्य राख्दछ तर जनताको सेन्टिमेन्ट र समयलाई बुझ्न नसक्नु चाँहि उसको अकर्मण्यता हो ।
अधिवक्ता एवं राजनीतिक विश्लेषक नेविसंघ झापाका पूर्व नेता समेत रहेका श्यामप्रसाद आचार्यले सरकारको यो निर्णय लगत्तै फेसबुक वालमा लेख्दै उर्जा मन्त्री र वर्तमान सरकारको औचित्य सकिएको भन्दै केपी ओली नेतृत्वको सरकारको राजीनामा माग गरेका छन् । झापामा २७ बर्षअघि देखि पत्रकारिता समेत गर्दै आएका दमकका व्यवसायी बिष्णु सुब्बाले पनि कुलमान हटाउने सरकारको निर्णय लगत्तै असफल ओलि सरकारको अलोकप्रिय निर्णय ! भनि टिप्पणी सार्वजनिक गरेका छन् ।
प्रतिगमन भयो– राजेन्द्र लिङदेन
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ब्यंग्यात्मक शैलीमा सरकारको यो निर्णयलाई बिद्युत प्राधिकरणमा सरकारले प्रतिगमन गरेको टिप्पणी गरेका छन् । सरकारले बिद्युत प्राधिकरणमा कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेछ ।
नेपाल विद्युत प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुनः संकट आउन सक्ने खतरा बढेको छ । गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ– लिङदेनले भनेका छन् ।