दमक/ झापाको गौरादहमा रहेको गौरादह बहुमुखी क्याम्पसको स्ववियुमा अनेरास्ववियुका तुलसीराम पौडेल र गौरादह कृषि क्याम्पसमा नेविसंघका स्वर्णीम अधिकारी अध्यक्ष चुनिएका छन् ।
बहुमुखीमा नेविसंघ इतरका सबै बिद्यार्थी संगठनहरुले मोर्चाबन्दी गरेका थिए । त्यहाँको अध्यक्षमा अनेरास्ववियुका पौडेल निर्वाचित हुँदै गर्दा सचिवमा राप्रविसंघका अन्जन राई १४९ मतसहित निर्वाचित भएका छन् ।
त्यस्तै १४७ मतसहित अखिल क्रान्तिकारीका प्रमेश कार्की कोषाध्यक्षमा विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा १४८ मतसहित अनेरास्ववियूकी दीपका कार्की र राप्रविसंका हेमकुमार ताजपुरिया १२४ मतसहित विजयी भएको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ अनेरास्ववियूले २ र नेपाल विद्यार्थी संघ र राप्रविसंले १–१ सदस्य पाएका छन् ।
त्यसैगरी गौरादह कृषि क्याम्पसको स्ववियु अध्यक्षमा निर्वाचित अधिकारीले १२० मत ल्याएर जित हासिल गरेका हुन् । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका रोशन यादव ४६ मतसहित निर्वाचित भएका छन् । अनेरास्ववियुसँगको चुनावी तालमेल गरेको नेविसंघले समानुपातिक तर्फ सो क्याम्पसमा पाएको मत ४० हो ।
त्यसैगरी काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका सुरज राई विजयी भएका छन् । नेविसंघका राईले १५१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका संगम बरालले ८८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेद्वार राप्रविसंघका संजोग खनालले १० मत प्राप्त गरे । त्यस्तै सचिवमा अनेरास्ववियुका एलिस पौडेलले १२९ मत प्राप्त गरी विजयी भएका छन ।
त्यसैगरी कोषाध्यक्षमा नेविसंघकी रिया ढुंगाना विजयी भएकी छिन् । ढुंगानाले ९५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै क्याम्पसका आधा विद्यार्थी उम्मेद्वार बनेर देशभरि चर्चा कमाएको झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ ।
जम्मा ४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए । अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धीहरु अनेरास्ववियूकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाएका छन् ।
त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मतसहित निर्वाचित हुँदा अनेरास्ववियूकी सुनिता संग्रौलाले ६र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गरेका छन् ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित भएका छन् । सोही पदमा उम्मेद्वारी दिएका अनेरास्ववियूकी अञ्जली मुर्मू ८ र नेविसंघकी खुश्बु खातुनले ९ मत पाएका छन् ।
कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की सो क्याम्पसको अध्यक्ष हुन् ।