दमक/ इलामको चुलाचुली गाउँपालिकाले दुई समुहका १८ जनालाई परम्परागत पञ्चेबाजा बजाउने सीप सिकाएर सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक बर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सञ्चालन गरेको नौमती बाजा बजाउने तालिमको मंगलबार औपचारिक समापन गरेको हो ।

पालिकाले चुलाचुली २ र ३ मा रहेका दुर्गा मन्दिर र सरस्वती कीर्तन मण्डलीलाई ति सामग्री हस्तान्तरण गरेको हो । सोही अवसरमा महिलाहरुले आफ्‌नै सीप प्रयोग गरेर बनाएको दुबोको माला गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलाई पहिराएका थिए भने पञ्चेबाजा बजाएर रौनक बढाएका थिए ।

तालिममा सहभागीहरु र प्रशिक्षकहरुलाई गाउँपालिकाले प्रमाण पत्र समेत प्रदान गरेको थियो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ र प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले सामग्री हस्तान्तरण गर्दै बाजा बजाउन सिकेको सीपलाई आय आर्जनसँग जोड्दै परम्परागत संस्कृति जगेर्नामा समेत लाग्न आग्रह गरे ।

अध्यक्ष केरुङले पालिकामा ६ वटै वडामा सो तालिममा इच्छुकलाई सहभागी गराइएको बताए । उनले बदलिँदो समयसँगै समाजमा विभिन्न शुभ कार्य तथा सामाजिक कार्यक्रमहरुमा पञ्चेबाजा बजाउने अभ्यास गरिनु पर्ने बताए ।

उनले त्यस किसिमको बाजा बजाउने कार्यलाई व्यवसायिक रुपमा अघि बढाउनु पर्ने र यसका माध्यमबाट महिलाहरुको आय आर्जनमा बृद्धि हुनुका साथै संस्कृति संरक्षणमा पनि टेवा पुग्ने स्थानीय सरकारले विश्वास लिएको बताए ।

अध्यक्ष केरुङले आगामी दिनमा लिम्बु समुदायको संस्कृति संरक्षणका लागि च्याब्रुङ र राई समुदायका लागि ढोल पनि हस्तान्तरण गरिने जनाउ दिए ।

उनले एउटा वडाका महिलाहरुलाई संगिनी नाच सिकाउने तालिम पनि सञ्चालन गर्न लागिएको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम मिश्रले स्वागत मन्तव्य राखेका थिए ।

 

विपन्नका घरमा स्थानीय सरकारले बाजा बजाईदिने

यसैबीच गाउँपालिकाले गाउँपालिका भित्रका सर्वसाधारणहरु आर्थिक कारणबाट आफ्‌ना छोराछोरीको बिहेमा पञ्चेबाजा बजाउन नसक्ने अवस्थामा भए उनीहरुलाई गाउँपालिकालेनै लागत ब्यहोरेर पञ्चेबाजा बजाउने व्यवस्था मिलाईदिने योजना रहेको पनि अध्यक्ष केरुङले जानकारी दिए । पञ्चेबाजा हस्तान्तरणपछि आफ्‌नै कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा उनले गाउँपालिका सबै वडा र क्षेत्रका लागि सन्तुलित बजेट तथा कार्यक्रमसहित अघि बढेको बताए ।

Facebook Comments Box