दमक/ कमल–२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरधुरी सर्वेक्षण अभियान सञ्चालन गरिएको छ ।  स्वास्थ्य सुरक्षाको लागि शनिबार सार्वजनिक बिदाको दिन स्वास्थ्यकर्मीहरुले यस्तो नमुना अभियान सञ्चालन गरेका हुन् ।
बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि घरधुरी सर्वेक्षण अभियान कमल २ मा सञ्चालन गरिएको हो ।

सार्वजनिक विदाको अवसर पारेर, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, र टोल विकास संस्थाहरूको संयुक्त टोली वडाका नौ वटै टोलमा घरदैलो कार्यक्रम मार्फत प्रत्येक घरमा पुगेर बालबालिकाको खोप अवस्था मूल्यांकन गर्दै आवश्यक परेमा नियमित खोप केन्द्रमार्फत खोप सुनिश्चित गर्ने गाउँपालिका अध्यक्ष हुकुमसिह राईले जानकारी दिए ।


नेपाल सरकारले ‘सबैका लागि खोप, दिगो स्वास्थ्यको आधार’ भन्ने लक्ष्य लिएको छ । तर, विभिन्न कारणले गर्दा अझै पनि केही बालबालिका खोपबाट वञ्चित रहेका कारण आफ्नो वडामा यस्तो अभियान सञ्चालन गर्नुपरेको वडाध्यष अशोक सुब्बाले बताए । समुदायका बालबालिका शतप्रतिशत खोपित बनाउने दिशामा ठोस कदम चालेको छ– कमल २ वडाध्यक्ष सुब्बाले भने ।
सर्वेक्षणपछि कुनै बालबालिका खोप छुटेका छन् भने, नियमित खोप केन्द्रमार्फत खोप लगाइने यसले वडालाई ‘पूर्ण खोप वडा’ घोषणा गर्न मद्धत पुग्नेछ । कमल गाउँ पालिकाका सात वटै वडा यसरीनै पुर्ण खोप वडा घोषणा भएपछि सिंगो कमल गाउँ पालिका पुर्ण खोप पालिका घोषणा गरिने अध्यक्ष राईले बताए ।

सर्वेक्षण अन्य दिनमा पनि निरन्तर गरिनेछ । कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार, यो अभियान स्वास्थ्य सुरक्षाको दिशामा निकै प्रभावकारी भइरहेको छ । कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक डा. फुलक चन्द्र लावतीको नेतृत्वमा स्वास्थ्यकर्मीहरू अभिभावकहरूसँग प्रत्यक्ष संवाद गरिरहेका छन् । एक स्थानीय अभिभावकले भने, पहिले त खोप छुटेको छ कि छैन भन्ने नै थाहा थिएन, तर स्वास्थ्यकर्मीहरू घरमै आएर जानकारी दिएपछि खोपको महत्व बुझियो ।
कमल–२ मा वडाध्यक्ष सुब्बाको संयोजकत्वमा वडा खोप समन्वय समिती क्रियाशील छ । वडा कार्यालयले घरधुरी सर्वेक्षणलाई प्रभावकारी बनाउन सूचना जारी गरेको थियो । सूचना र सञ्चारका सबै माध्यमहरुको उपयोग गर्दै अभिभावकहरुलाई खोपबारे सुचित गरिएको छ ।
नेपाल सरकारले पहिले देखि खोप अभियानलाई अनिवार्य रूपमा अघि बढाइरहे पनि पूर्ण खोप सुनिश्चितताको चुनौती अझै छ । ग्रामीण क्षेत्रहरूमा अझै पनि खोप प्रति जनचेतना अभाव, पहुँचको समस्या र आर्थिक असहजता जस्ता कारणले बालबालिकाहरू खोपबाट बञ्चित हुने अवस्था रहेको पाइन्छ । यस्तो अवस्थामा, कमल–२ मा भएको यो अभियान अन्य स्थानीय तहर वडाका लागि पनि उदाहरणीय बन्न सक्छ ।

Facebook Comments Box