दमक/ झापाको दमकस्थित मारवाडी सेवा सदनमा बिहिबार दिनभर जसो किशोरावस्थाका बिद्यार्थीहरुको हाँसो गुञ्जियो ।
बेला बेलै बिद्यार्थीहरु हाहा हुहुको आवाज निकाल्दै रमाएका देखिन्थे ।
कार्यक्रमका मुख्य आकर्षक सिक्कीमका प्रेरणादायी वक्ता प्रिमउस भुटियाले आफ्नो किशोरावस्थादेखि तन्नेरी उमेर सम्मका माया प्रेमका श्रृखंलाहरु सुनाउँदै बिद्यार्थीलाई हसाएनन मात्रै किशोरावस्थामा हुन सक्ने व्यक्तिगत,पारिवारिक र सामाजिक समस्याहरुबारे पनि सचेत गराए ।
युथ लिडर्स झापाले दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रमका मुख्य आकर्षक तथा प्रेरक व्यक्तित्व थिए भुटिया ।
भुटियाले आफैँ लागुऔषधको कुलतबाट निक्कै मुस्किलले मात्रै निस्किएको र यसबाट बाहिर निस्किए पछि मात्रै वास्तविक जिवन भोगिरहेको अनुभव सुनाउँदै किशोरावस्थादेखिनै हुने प्रेम आकर्षण , खैनी, चुरोट, गुट्खादेखि अतिनै जिवनलाई बर्बादीको दिशामा धकेल्ने लागूऔषधको प्रयोगबाट टाढै रहन सुझाए ।
लागुऔषध दुव्र्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम नाम दिइएको सो कार्यक्रममा भुटियाले किशोरावस्थामा गरिने क्रियाकलाप र आइपर्ने समस्याका कारण हुने मानसिक रोगको शिकारबारे पनि सजग गराए ।
उनले लागुऔषधले जीवनका सबै महत्वपूर्ण पक्ष खोस्ने भएकाले जिवन बर्बादीतर्फ जान नदिन समयमै सचेत हुन आग्रह गरे ।

उनले हिप्पी संस्कृतिको प्रभावका कारण आफू लागुऔषधको शिकार भएको स्मरण गर्दै लागुऔषधको कुलतमा फसेका किशोर किशोरीहरु र युवा पुस्तालाई पुनः सही मार्गमा ल्याउनुर्ने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरे ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले खुला सीमाका कारण लागुऔषध कारोबार तीव्र गतिमा बढ्दै गएको भन्दै यसले समाजमा गम्भीर असर पारिरहेको बताइन्।
उनका अनुसार दमकमा चारवटा पुनस्र्थापना केन्द्र सञ्चालनमा रहेका छन्, जसमा महिलाको संख्या ठुलो मात्रामा हुनुले समाजलाई थप बर्बादीतर्फ धकेलिरहेको बताइन् । उनले विशेषगरी बालबालिका साथीभाइको लहैलहैमा लागुऔषधको कुलतमा पर्ने गरेको बताउँदै नगरपालिकाले शून्य सहनशीलतासहित लागुऔषध विरुद्ध अभियान सञ्चालन गरिरहेको उपप्रमुख भट्टराईको भनाई थियो ।
देशका भविष्य निर्माता बालबालिकाले सानैदेखि लागुऔषधको हानिबारे सचेत हुनुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममा दमकका तीन विद्यालयका ४० बढी विद्यार्थी सहभागी भएका आयोजक संस्थाका अध्यक्ष मिलन आचार्यले जानकारी दिए ।
मेची सेकेण्ड्री बोर्डिङ स्कूलका शिक्षक दिपक खड्का यस किसिमका कार्यक्रमहरुले भावी पुस्तालाई कुलत र विकृतपूर्ण क्रियाकलापबाट टाढै राख्न मद्धत पुग्ने बताए ।