झापा/ झापाको शिवसताक्षी नगरपालिका–७ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

९० वर्षीया धनमाया राईको बासको बेरा र टिनको छानोले बनेको एकतले कच्ची घर नजिकै सुंगुरको चारो पकाउन बालेको आगो अचानक फैलिँदा घर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आगलागीका कारण घरभित्र रहेका खाट, टेबल, खाद्यान्न सामग्री, लत्ताकपडा, कागजपत्र तथा नगद १३ हजार रुपैयाँ जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा शिवसताक्षी नगरपालिकाको दमकलको सहायतामा आगो करिब एक घण्टापछि नियन्त्रणमा ल्याइएको थियो। आगलागीमा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box