कमल/  झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटघाट गर्दै हात्ती समस्या र नदी कटानको समस्याको दिर्घकालिन समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष राईले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग  समग्र कमल गाउँपालिकाबासीले भोग्दै आएका समस्या र सरोकारका बिषयहरुमा प्रधामन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष राईका अनुसार मुख्यतया कमलको वडा नम्बर ३, ४ र ५ का बासिन्दाले भोग्दै आएको हात्ती समस्या र यहाँको रतुवा र कमल खोलाको नदी कटान नियन्त्रणको योजनाका लागि प्रधानमन्त्री ओलीसँग लिखित रुपमा ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री ज्यूले हामीबाट प्रस्ताव गरिएका हात्ती समस्या समाधानको योजनालाई विशेष ध्यान पूर्वक सुनेर राम्रो प्रस्ताव भनि प्रतिक्रिया दिनु भएको छ – गाउँपालिका अध्यक्ष राईले भने ।

अध्यक्ष राईले प्रधानमन्त्री ओलीसँग जंगली हात्तीले दैनिक जसो ५/७ वटा घर भत्काउने र स्थानीय किसानका घरमा राखेको खाद्यान्न र अन्नबाली नष्ट गरि जन धनको क्षति गर्ने गरेको फेहरिस्त सुनाएका छन् ।
पछिल्लो समय कमल गाउँपालिका भित्र जंगली हात्तीका कारण चार जना सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको समेत अध्यक्ष राईले प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको बताएका छन् ।
अध्यक्ष राईले गाउँपालिका भित्रका गौरवका योजनाका रुपमा रहेका योजनाहरुलाई आगामी आर्थिक बर्षको बजेट तथा योजनामा समावेश गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

अध्यक्ष राईले भने – वहाँ (प्रधानमन्त्री ) ज्यूकै निर्वाचन क्षेत्रमा कमल गाउँपालिका पनि पर्ने भएकाले अन्यत्रका योजनाहरुमा बजेट पर्दै जाँदा कमलका केही महत्वपूर्ण योजनाहरुमा पनि ध्यान पुगोस भनेर भेटघाट गरिएको हो ।
रतुवा र कमल खोलाको कटानका कारण स्थानीयबासी बर्षौदेखि पिडित रहेकाले नदी नियन्त्रणका अधुरा योजनालाई तत्काल आवश्यक बजेटको बन्दोबस्ती मिलाई तटबन्ध गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराईएको अध्यक्ष राईले बताए ।
आगामी बजेटमा उहाँ ( प्रधानमन्त्री ) ज्यूले यसबारे अवश्यक सम्बोधन गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं – गाउँपालिका अध्यक्ष राईले भने ।


कमल ५ स्थित मंगलबारे बजारलाई सुविधा सम्पन्न व्यवस्थित बजारका रुपमा बिकास गर्न अध्यक्ष राईले उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहसँग आवश्यक प्रस्ताव पेश गरेका छन् । उपप्रधानमन्त्री सिंहले शहरी बिकासका योजना अन्तर्गत सो योजनामा बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष राईले उल्लेख गरे । त्यस्तै कमल २ मा सामुदायिक भवन निर्माणको योजनाका बिषयमा पनि उपप्रधानमन्त्री सिंहसँग कुराकानी भएको छ ।
त्यसैगरी अध्यक्ष राईले बुधबारनै युवा तथा खेलकुद बिकास मन्त्री तेजलाल चौधरीसँग पनि मन्त्रालयमा पुगेर भेटघाट गर्दै कमल ५ मा निर्माणाधिन आदिवासी रंगशालाको अधुरो कम्पाउण्ड वाल, प्याराफिट निर्माण लगायतका काम गर्ने गरी कम्तीमा १० करोड रुपैयाँ बजेट छुट्याउन लिखित माग पत्र पेश गरेका छन् ।

Facebook Comments Box