दमक/ झापाको दमक नगरपालिकाले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर तथा महिलाका लागि नविनतम ऐन,कानुन सम्बन्धि जानकारीमुलक प्रशिक्षण सञ्चालन गरेको छ ।
दिवसको सन्दर्भ पारेर आइतबार नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाईमा प्रभातफेरी आयोजना गरिनुका साथै सभाकक्षमा पुगेर कानुनी साक्षरता प्रदान गरेको हो ।
सो अवसरमा सहभागीहरुले समाजमा महिला तथा बालबालिकाले भोग्दै आएका घरेलू हिंसादेखि अधिकार हननका बिषयमा बिद्यमान कानुनी व्यवस्था तथा समाधानका बिषयमा अन्तरक्रियात्मक छलफल समेत गरेका थिए ।
कार्यक्रमकी सहभागी महिला सशक्तिकरण अभियानमा सक्रिय नेतृत्वकर्ताहरु अनेमसंघ झापाकी अध्यक्ष लीला ढुंगेल, शैक्षिक व्यक्तित्व दुर्गा काफ्ले, नेपाल महिला संघकी नगर उपाध्यक्ष शान्ती पौडेल, सामाजिक कार्यकर्ता इक्सा लिम्बु, दलित अधिकारकर्मी अमर बराईली लगायतले महिलालाई वंशीय समान अधिकार, नागरिकतामा महिलाको हक , पति पत्नी सम्बन्ध विच्छेदमा अधिकार, पैतृक सम्पत्तीमा हक लगायतका बिषयमा जिज्ञासासहित आआफ्नो धारणा राखेका थिए ।
सो अवसरमा कानुनी साक्षरता बिषयमा सहजीकरण गर्दै झापा बारका अध्यक्ष समेत रहेका अधिवक्ता नारायण भट्टराईले नेपालको संविधान २०७२ ले महिलालाई प्रदान गरेका अवसरहरुको बारेमा चर्चा गरे ।
उनले मुलुकको राष्ट्रपति, प्रधानन्यायधीश,सभामुख जस्ता विशिष्ट र महत्वपूर्ण पदहरुमा नेपाली महिला पुगेका भएता पनि समग्र महिलाको अवस्था भने उक्सिन नसकेको, घरेलू हिंसाबाट मुक्त समाज बन्न नसकेको बारेमा चर्चा गरे ।

कार्यक्रममा अधिवक्ता कोपिला अधिकारीले बालबालिका सम्बन्धि बिद्यमान कानुन र अधिकार संरक्षणका बिषयमा सहजीकरण गरेकी नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत जमुना पौडेलले जानकारी दिइन् ।
शाखा प्रमुख सरिता भण्डारीले सञ्चालन गरेको सो कार्यक्रममा करिब १ सय ५० जना कानुनी साक्षरतामा सहभागी भएका थिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको अध्यक्षतामा सञ्चालित सो प्रशिक्षण कार्यक्रमको समापनमा नगरपालिकाकी सामाजिक बिकास समिति संयोजक शारदा सापकोटा, अनेमसंघ झापा जिल्ला अध्यक्ष लीला ढुंगेल, अनेमसंघ प्रदेश कमिटी सचिव भुमिका कोइराला लगायतले घरेलू हिंसामुक्त समाज निर्माणका लागि महिलाहरुमा कानुन र अधिकारका बिषयमा थप सशक्त जानकारीमुलक प्रशिक्षण सञ्चालन गरिनुपर्ने, आर्थिक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउन आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने , महिला नेतृत्व स्थापित गर्न महिला स्वयं जागरुक र सचेत हुनुपर्नेमा जोड दिए ।
सो औपचारिक कार्यक्रम अघि नगरपालिकाका कर्मचारी, सामाजिक संघ संस्था, बिद्यालय कलेज लगायतको सहभागितामा आयोजना गरिएको प्रभात फेरीलाई दमक नगर प्रमुख रामकुमार थापा र उपप्रमुख भट्टराईले सम्बोधन गरेका थिए ।



