इलाम/  इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २–१ गोलान्तरले हराउँदै एपिएफले उपाधि कब्जा गरेको हो । उपाधिसँगै एपीएफले नगद चार लाख रुपैयाँ पुरस्कार हात पारेको छ । उपविजेता आर्मीले नगद दुई लाखमा चित्त बुझायो ।
सुरुबाटै आर्मीविरुद्ध हाबी भएको एपिएफले खेलको २५ मिनेटमा पेनाल्टीबाट गोल गर्दै सुरुआती अग्रता लिएको थियो । एपिएफकी सविता रानालाई आर्मीको डि–बक्स एरियामा फाउल गरिपछि पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै गोल गरिन् । आर्मीले पनि पहिलो हाफमा थुप्रै अवसर सदुपयोग गर्न सकेन ।
पहिलो हाफमा १ गोल गरेको एपिएफले दोस्रो हाफमा पुनः गोल गर्दै अग्रतालाई दोब्बर बनायो । दोस्रो हाफमा एपिएफकी सविता रानामगरले गोल गरिन् ।
आर्मीले दोस्रो हाफमा गोल गर्दै अग्रतालाई घटायो । आर्मीका लागि फरवार्ड विमला चौधरीले गोल गरिन् । अन्तिम समयसम्म आर्मीले खेलमा फर्किन कोसिस गरेपनि सकेन ।
आजको खेलको प्लेयर अफ दी म्याच एपिएफकी सविता रानामगर घोषित बनिन् । उनले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । ।
उत्कृष्ट गोल रक्षक आर्मीकी अञ्जना राना घोषित बनिन् । उनले १० हजार र ट्रफी प्राप्त गरिन् । उत्कृष्ट डिफेन्डर आर्मीकै विमला बिक बनिन् । उनले पनि नगद१० हजार र ट्रफी प्राप्त गरिन् ।
सर्वाधिक गोलकर्ता एपिएफकी रश्मिकुमारी घिसिङले नगद १० हजार र ट्रफी प्राप्त गरिन् । खेलको उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटीले पनि १० हजारसहित ट्रफी प्राप्त गरिन् । सर्वाेत्कृष्ट खेलाडी एपिएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।
क्लब ओएसिस इलामको आयोजनामा फागुन १७ देखि शुरु भएको गोल्डकपमा आठ टिम सहभागी थिए ।

Facebook Comments Box