दमक/ बजारमा अस्वस्थकर खानेकुराको विक्री वितरणले आम उपभोक्ताहरुको स्वास्थ्य जोखिममा परिरहेको तथ्यहरु धमाधम बाहिर आइरहेका छन् । बजारमा आम मानिसका लागि उपभोग्य बस्तुहरुको विक्री वितरण गर्ने व्यवसायीहरु स्वयं आफैं उपभोक्ता पनि हुन् ।
तर दमक बजारक्षेत्र र संवेदनशील मानिएका अस्पताल तथा बिद्यालय आसपासका विभिन्न रुपमा सञ्चालित होटल तथा खाजा घरहरुमा मानव स्वास्थ्यका लागि निक्कै हानिकारक बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको बजार अनुगमन संयोजक समेत रहेकी नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले जानकारी दिइन्।
पछिल्लो समय दमक नगर उपप्रमुख भट्टराईले खानपान र स्वास्थ्यमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गर्दै बजार क्षेत्र जाने गरेकी छिन् ।
अघिल्लो साता सम्म दमकका सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरुको खाजा खुवाउने क्यान्टिन अर्थात चमेना गृहहरुमा पुगेको उपप्रमुख भट्टराई नेतृत्वको विज्ञहरुसहितको टोलीले अस्पताल आसपासका होटल तथा खाजा घरहरुमा पनि एक्सन लिएको छ ।

दमक २ स्थित आम्दा अस्पताल आसपासका होटलहरुमा गरेको अनुगमनको क्रममा कतिपय होटलका भान्साहरुमा प्रतिबन्धित अमिलो ( चुक),अखाद्य तत्व मिसिएको रंग, बासी मम आदी फेला परेको छ ।
नेपाल प्रहरीसहित, नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपाने, नगर प्रहरी इञ्चार्ज रुद्रजंग काकी समेतको टोलीले उपप्रमुख भट्टराईको नेतृत्वमा अखाद्य बस्तुको विक्री वितरण गर्ने होटल तथा खाजा घरहरुलाई स्पटमै पुगेर एक्सन लिएको छ ।
अनुगमन टोलीले दमक ७ को एक उद्योगमा सेतो मटरलाई हरियो अखाद्य रंग पोलिस लगाएर हरियो मटर बनाई विक्री गर्ने गरेको पनि पाइएको छ । अनुगमन टोलीले त्यसकिसिमको कसुर गर्ने उत्पादकलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अखाद्य रंगको पोलिस लगाइएको मटर जफत गरि नष्ट गरेको छ ।
सामान्य त्रुटी र लापरवाहीका कारण पनि धेरै उत्पादक तथा विक्री वितरक व्यवसायीहरु थ कानुनी अप्ठ्याराहरु आइलाग्ने खालको अवस्था बजारमा देखिन्छ ।
कानुनले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएको छ ।
उपभोग्य सामान उत्पादन र बेचबिखनमा कसुर हेरी स्पटमै जरिवाना तोक्ने देखि अदालत पठाउनेसम्मको प्रकृया अघि बढाउने अधिकार स्थानीय सरकारलाई छ ।